Thursday, October 22

नेपाली भिक्षुले थाइल्याण्डमा पाए सर्वोच्च सम्मान

July 26, 2020 96

काठमाडौँ । नेपालका एक भिक्षुले अन्तराष्ट्रिय सम्मान पाएका छन् । नेपालका भिक्षुले थाइल्याण्डको सर्वोच्च सम्मान पाएका हुन् । थाई नरेश महावालिरालङ्कनले नेपाली भिक्षु सुगन्ध महास्थविरलाई देव पदको सम्मान प्रदान गरेका छन् । यो थाइल्याण्डको निकै प्रतिष्ठित सम्मान हो । थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत्‌मा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् । उनले पाएको यो सम्मानले नेपालका सबै बौद्ध धर्मावलम्बी खुसी भएका छन् ।

चार दशक यता थाइल्यान्डमा बस्दै आएका उनलाई त्यहाँ अनिल शाक्यको नामले चिनिन्छ । थाई भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो क्रममा देव पद रहेको छ ।

थाइल्यान्डको बौद्ध धर्ममा योगदान पुर्‍याएको सम्मान स्वरूप त्यहाँका राजाले यो पद प्रदान गरेका हुन् । भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर पनि हुन् । थाइल्यान्डमा ३ लाख २८ हजार २ सय ४४ भिक्षु छन् ।

यो अर्को समाचार, निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् ।

निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै उद्धार उडानको तालिका बनाइने जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका लागि बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्तिमार्फत जनाएको छ ।

यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले क्षमा मागेको छ । निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाईटमा हेर्न पनि अनुरोध गरेको छ ।

यता हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ । थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ । यसअघि उद्धार उडानका लागि नेपालका दुई तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सङ्क्रमणमुक्त हवाई यात्राका लागि सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडान गर्नुपर्ने भएकाले दुवैतर्फ थोरै सङ्ख्यामा उडान हुनेछ । कुन गन्तब्यमा कति उडान गर्नेभन्नेबारे प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० सम्म उडान हुनसक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्