Sunday, October 25

उपचाररत बिरामीको कोरोनाबाट मृत्यु : देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

July 27, 2020 122

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट तीनजनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा तीनजनाको ज्यान गएको जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाराको फेटा घर भएका ६० वर्षीय पुरुषको आज मृत्यु भएको छ । उनी निमोनिया, मस्तिष्कघात लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेका थिए । शिक्षण अस्पतालमा उपचारकै क्रममा आज ती पुरुषको मृत्यु भएको हो ।

त्यस्तै पर्साको वीरगञ्ज बस्ने ६५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । भारतीय नागरिक ती पुरुषको गण्डक अस्पतालमा हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको पनि हिजो नै मृत्यु भएको छ । जनकपुरबाट रेफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा उनको बाटोमै हिजो मृत्यु भएको हो । उनी साउन १० गतेदेखि जनकपुरमा उपचाररत थिए ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको बताए । थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको उनले जानकारी दिए ।

संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्