Monday, October 19

गुल्मी पहिरोले मालबाहक ट्रक बगायो

July 29, 2020 68

गुल्मी- वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा एउटा मालबाहक ट्रक बगाएको छ । सोमबार राति बुटवलबाट हार्डवयरका सामग्री लिएर चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजारतर्फ जाँदै गारेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि सडक छेउमा रोकी राखेको अवस्थामा उक्त ट्रकलाई माथिबाट खसेको पहिरोले बगाएको हो ।

पहिरोका कारण छ घरपरिवार विस्थापित
अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँचवटा घरमा क्षति पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङ्मा आज बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिदिएको हो ।

पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठसमेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो । त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिकाअन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उहाँकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोले घरमा क्षति पुगेपछि छ घरपरिवारका २९ जना व्यक्ति विस्थापित भएका छन् । पहिरोका कारण विस्थापित परिवारले यतिबेला स्थानीय जनता बाल निकेतन माध्यमिक विद्यालयमा आश्रय लिन बाध्य भएका छन् ।(रासस)

प्रतिकृया दिनुहोस्