Thursday, October 22

जब श्रीमतीका हत्यारा मेरै अगाडि उभिए !

July 29, 2020 468

श्रीमतीका हत्यारा पूर्वडीआइजी रञ्जन कोइराला श्रावण ८ गते जेलमुक्त भए । सर्वोच्चको फैसला विवादमा तानियो । प्रश्नहरू उठे । यो परिदृश्यसँगै मलाई करिब दुई दशक अगाडिको धरानको एउटा घटना याद आयो ।

जब म इलाका प्रहरी कार्यालय धरानको इन्चार्ज थिएँ, एकदिन बिहान झिसमिसेमै ड्युटी अफिसरले सेटमा कल गरेर भने ‘सर, तुरुन्तै अफिस आउनुपर्‍यो, इमर्जेन्सी पर्‍यो ।’
म निन्द्रामै थिएँ, उनले एक सासमै बताउन भ्याए, ‘सर ! एउटा साठी वर्षजतिको मान्छे ‘मैले स्वास्नी काटेँ’ भन्दै हातमा रगत लागेको खुकुरी लिएर आएको छ । साथमा ९ वर्षकी बच्ची पनि छ।’

म झस्किएर उठेँ । क्वार्टर अगाडि गाडी आइसकेको थियो, तुरुन्तै अफिस पुगेँ ।

अफिस पुग्दा एउटा प्रौढ व्यक्ति हातमा खुकुरी लिएर उभिरहेको देखेँ । सबैभन्दा पहिले मैले ड्युटी अफिसरलाई उसको हातबाट खुकुरी लिन भनेँ (सुनेको थिएँ, यस्तो मार हान्ने मान्छेलाई एउटा काटेपछि अगाडि जे भेट्यो, त्यही छपाछप काटिरहन मन पर्छ रे )।

उसको हातबाट खुकुरी लिएपछि सोधेँ ‘के गरेर आउनुभो ?’

उसले सिधै भन्यो ‘स्वास्नी काटेर आएँ हजुर, रिसले आँखा देखिनँ र झ्याप्प हानेको, घाँटी पूरै छिन्यो होला । यतिखेर त मरिसक्यो होला।’

झुत्रो झाम्रो लुगा लगाएको, हेर्दा सोझो देखिने उनले भने ‘लौ म त तपाईं (प्रहरी)हरूकहाँ आत्मसमर्पण गर्न आएको । के गर्नुपर्छ, गर्नुस् ।’

म बिलखबन्दमा परेँ । भित्र लगेर वयान लिएँ ।

उनी बताउँदै गए, ‘सर, म इन्डियन आर्मीबाट पेन्सनमा पाएको व्यक्ति हुँ । अहिले यही थाना पछाडिको सुकुम्बासी बस्तीमा छाप्रो बनाएर बसेको छु । मेरो परिवारमा स्वास्नी अनि एक छोरा र छोरी छन् । छोरी अहिले ९ वर्षकी भई ।’

साथैमा आएकी ९ वर्षकी बच्चीलाई देखाउँदै उनले थपे ‘छोरा १८ वर्ष पुग्न लाग्यो, ऊचाहिँ आमाको लास कुरेर बसेको छ ।’

यति भनिसकेर उनले साथमा रहेकी छोरीलाई हेर्दै लामो सास फेरे ।

ती वृद्धलाई लिएर हामी उनको घर पुग्यौं ।

मान्छेहरू जम्मा भइसकेका रहेछन् । सुकुम्बासी बस्तीको सानो झुपडीमा रातो माटोले लिपेको ठाउँमा एउटी महिला घुत्रुक्क परेर लडिरहेको, घाँटीदेखि रगत बगेर आहाल बनेको, दाहिने हातले कुचो समातेको, अनि बढार्दा-बढार्दैको फोहोर छेउमै थियो । छेउमा छोरो टुक्रुक्क परेर बसेको ।

त्यसै त सुकुम्बासी बस्ती, त्यसैमाथि यस्तो घटनाले त्यहाँ हेरिनसक्नुको हृदय विदारक दृश्य खडा भएको थियो । छेउछाउमा उभिएका सबैको मुखबाट चुँचुँचुँचुँको आवाज आइरहेको थियो ।

हामीले कानुनत: गर्नुपर्ने सबै कार्य गर्दै लासलाई पोस्टमार्टमका लागि पठाएर कार्यालय फर्कियौं ।

किंकर्तव्यविमूढ भएर मन एक तमासको भइरहेको थियो । ती बाबुको हातबाट आफ्नै आँखा अगाडि आमा मारिएको अनि बाबु जेल जाने अवस्थामा पुगेका टुहुराहरूको अनुहार हेर्दा मन झन् ढक्क भएर आइरहे’थ्यो। के गर्ने ? कसरी गर्ने ?

प्रहरीले आफ्नो कर्तव्य त निभाउनु नै थियो । हामीले उनीहरूको वयान सुरु गर्‍यौं ।

बुढाले भन्दै गए –

‘ सर, हामी सुकुम्बासी बस्तीमा बसे पनि सुखी नै थियौं । बस्तीको घुम्तीमा सानो पसल थियो, खान लाउन पुगेकै थियो । यस्तैमा गाउँघरमा गाइँगुइँ चल्यो कि मेरी श्रीमती अर्को मान्छेसँग लागेकी छ भनेर । तर, मैले विश्वास गरेको थिइनँ । बेलाबखत मेरी श्रीमती केही समयका लागि हराउन थाली । फर्केर आएपछि पनि कहाँ गएको नभन्ने, झर्किने गर्थी । बुझ्दा एकजना व्यक्तिसँग बढी संगत भएको थाहा पाएँ । ब्रिटिस आर्मीको पेन्सनर उहाँलाई म दाइ भन्थेँ । उमेरले ठूलो उहाँ त्यस्तै ६५-६६ वर्षको हुनुहुन्थ्यो ।

एक दिन उहाँलाई नै भेटेर मैले अनुरोध गरेँ दाइ ! गाउँघरमा तपाईं र बहिनी (उनी मेरी स्वास्नीलाई बहिनी भन्थे) को बारेमा नराम्रो गाइँगुइँ छ । त्यसैले तपाईं मेरोमा नआइदिनु होला ।

तर उनले त उल्टै रिसाएर, तेरी स्वास्नी मलाई दे, म लान्छु पो भने । सहन सकिनँ । तर, धैर्य गरेँ । अर्को दिन फेरि ती दाइलाई मैले मेरो स्वास्नीसँग घुम्ती दोकानमा ठट्टा गरिरहेको भेटेँ । घर आएर खुकुरी झिकेर आज दुइटैलाई सिध्याउनुपर्‍यो भनेर गएको त होचो घुम्ती दोकानमा खुकुरी बत्तिने ठाउँ नभएर म चुपचाप फर्किएँ । तर, मन साह्रै दुख्यो, मेरै स्वास्नीलाई, मेरै अगाडि त्यस्तो भन्ने ? सहन पनि सकिनँ, केही गर्न पनि सकिनँ । किनकि उनी धनी थिए । सँगै मेरै स्वास्नी नै त्यस्तो भएपछि म के गर्न सक्थेँ र ? यस्तो बेला एकदम गाह्रो हुँदोरहेछ हजुर । तैपनि छोरा-छोरीको मुख हेरेर मन थामेँ ।

आज त अति भयो । ४ बजे ओछ्यानमा हेर्छु त श्रीमती छैनन् । वरपर खोजेँ, भेटिनँ । अनि छोरालाई लिएर यता बसपार्क सबैतिर एक घण्टासम्म खोजेँ, भेटिएन । हामी घर फर्कियौँ । उनी त घर बढार्दै रहिछन् । अनि मैले सोधेँ- बिहानै कहाँ गएकी थिइस् ? उसले बढार्दै मेरो मुखै नहेरी ‘जहाँसुकै जाऊँ, के मतलब पो भनी ।

मैले के रे ? भनेर सोधेँ । उसले उही जवाफ फर्काएपछि रिस थाम्न सकिनँ र दलिनमा घुसारेको खुकुरी निकालेर छयाप्प हानेँ । उनी घुत्रुक्कै ढलिन् अनि म छोरालाई लास कुर्न लगाएर छोरीलाई साथमा लिएर पुलिस थानामा आएँ ।’

मैले उनको अनुहार हेरेँ, बुढ्यौली अनि गरिबीले चाउरिएको अनुहार । झन् आजको असोचनीय घटनाले भाव शून्य पाएँ ।

मैले उनका छोरासँग कुरा गरेँ । मलाई डर थियो, आफ्नो आमा काट्ने बाउलाई छोराले बदला भावले केही गर्ला कि ? त्यसैले मैले सतर्कता अपनाएको थिएँ । तर अचम्म, छोराले त उल्टै मेरी आमा खराब थिइन्, बाउले जे गरे ठीक गरे पो भन्छ ।

‘मेरो बाउले सहनु सहे, अति भएपछि आज काटे । म पनि बाउसँग आज बिहानै आमा खोज्न ठाउँ ठाउँ पुगेको थिएँ । तर, भेटेनौं । भेटेपछि पनि आमाले बाउलाई राम्रो व्यवहार गरिनन् र बाउले काटे ।’

सुन्दा नै जिउ सिरिङ्ग हुने दाजुचाहिँको कुरा टुङ्गिन नपाउँदै ९ वर्षीया बहिनीले थपी, ‘मेरो बाउ सोझा छन्, आमाले ती बडासँग लागेर बाउलाई राम्रो गरिनन्, हामीले पनि सम्झाउँदा भएन । आज त यस्तो भयो ।’ यति भनिसकेर उ कहालिएर रोई । बाउचाहिँ छोराछोरीलाई हेर्दै टोलाए ।

सुन्दा पनि मन हरक्क भएर आउने यस्तो घटनाको अनुसन्धान आफैँले गर्नुपर्दा एकदम गाह्रो भइरहेको थियो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई त जेल हुने नै भयो, त्यसमाथि आफैँ आत्मसमर्पण गर्न आएका छन् । बुढा त जेल जान्छन्, सोचनीय अवस्था त अभिभावकविहीन हुन लागेका ती २ टुहुराको थियो । अब यिनलाई कसले सहारा देला ? अनि यिनलाई परेको मानसिक आघातको परिणाम के होला ?

अनुसन्धान पूरा हुँदै थियो । अनुसन्धान के भनौं, सबै स्पष्ट थियो । हत्या गर्ने खुकुरीसहित आफैँ आत्मसमर्पण गर्न आएको अवस्था अनि सबै तथ्य प्रमाणले पुष्टि गरेको अवस्थामा मुद्दा बुझाउन समय नै लागेन । तर, यी सोझा वृद्ध अनि छोराछोरीको कहालीलाग्दो अवस्थाले हामी अनुसन्धानमा खटिएर मुद्दा बुझाउन लागेका प्रहरी र सरकारी वकिललाई भने मन बुझाउन गाह्रो भइरहेको थियो ।

हामी सोचमग्न थियौं- कानुन र तथ्य प्रमाणले ती वृद्ध दोषी थिए, तर परिबन्द ? हामी अनौपचारिक कुरा गर्थ्यौं- यस्तो अवस्था जो कोहीलाई आइपरे के गर्लान् ? यी वृद्धको भन्दा फरक अवस्था हुनसक्थ्यो ? अब यी बच्चाहरुको अवस्था के होला ? जो काटिएर मरेकी आफ्नै आमालाई दोषी देखाउँदै खुकुरीले काट्ने बाउलाई नै ठीक देखिरहेका छन् ।

आचार्य थरका सरकारी वकिल काबिल अनि असल थिए, जसले पछि तीनजना आइजीपीलाई जेल पठाउने प्रहरीको बहुचर्चित सुडान काण्डको अनुसन्धान गरे । मुद्दा बुझाउने बेला भयो, मसँग मिल्ने भएकाले उनीसँग सल्लाह गरेँ । ती वृद्ध र बच्चाहरूको अवस्थालाई हेरेर कानुनत: केही गर्न सकिन्छ कि ? उनले भने, ‘श्रीमान् (न्यायाधीश) ले केही गर्न सक्लान् । तर, भन्ने कसरी ? हत्यारालाई सहुलियत दिन भन्ने कसरी ?’

उनले थपे, ‘ती वृद्ध र बच्चाहरूको अवस्था हेर्दा त केही गर्नैपर्ने देखिन्छ । तपाईंलाई यी श्रीमान् (न्यायाधीश) ले माया गर्छन्‍ । एकपटक तपाईंले नै अनौपचारिकरूपमा भनी हेर्ने पो हो कि त ?

हुन पनि ती जिल्ला न्यायाधीशले मलाई मायाले जिस्काइरहनुहुन्थ्यो । मैले उहाँको मन जितेको थिएँ । भनौं उहाँसँग म अनौपचारिक कुरा गर्दा उहाँ सहजै कुरा गर्नुहुन्थ्यो । तब एउटा अनौपचारिक भेटमा सरकारी वकिलसमेत भएर मैले ती वृद्धले सुनाएको आफ्नो कथा-व्यथा अनि उनका बच्चाहरूको अवस्था बताएँ ।

यस्तो अवस्था जो कसैलाई परे पनि उसले के गर्ला भन्ने प्रश्न मनमा आइरहन्छ, के गर्ने होला श्रीमान ?

अनुभवले पाकिसक्नु भएका श्रीमानले हाम्रो भाव नबुझ्ने कुरै भएन । तब भन्नुभयो- ‘हामी न्यायाधीशको तजबिजी अधिकार भन्ने हुँदैन, न्यायाधीशले जहिल्यै तथ्यमा प्रवेश गरेर बोल्ने हो । न्यायाधीशले विवेक प्रयोग गर्न थाल्यो भने न्याय बिग्रिन्छ । बाबु ! त्यसैले तिमी (मायाले तिमी भन्नुहुन्थ्यो)हरू (सरकारी वकिल र प्रहरी) ले जस्तो पेश गर्यौ, मैले त्यसैका आधारमा बोल्ने हो । हत्या त आखिर हत्या नै हो । भवितव्य हो कि, आवेशप्रेरित हो ? वा मनसायप्रेरित हो ? तिमीहरूले जे देखेका छौ ? त्यस्तै पेश गर, त्यसैमा रहेर म हेरौंला।

आज फर्केर हेर्दा ती जिल्ला न्यायाधीश (पछि उच्च अदालतका न्यायाधीश) प्रति झन् सम्मान जागेर आउँछ ।

आज म ती न्यायमूर्तिलाई ससम्मान सम्झिरहेछु, जसले श्रीमतीका हत्यारामाथि तजबिजी अधिकार प्रयोग गरेनन् । ती न्यायमूर्ति उच्च अदालतका न्यायाधीश त बने, तर वरिष्ठ हुँदाहुँदै र पालो आएर पनि सर्वोच्च अदालतमा आउन नपाई बिदा भए ।

रञ्जन कोइरालाको अपराध

सन् २०१२ मा नेपाल भ्रमणका लागि इलामबाट सपरिवार चितवन आइपुगेका हामी पाहुना हुन भरतपुर तालिम केन्द्रमा पुग्यौं । त्यहाँ समादेशक हुनुहुन्थ्यो- एसएसपी राजेन्द्र श्रेष्ठ ।

भाउजूसहित उहाँले हाम्रो परिवारलाई न्यानो आतिथ्य प्रदान गर्नुभयो । उहाँ मेरो सिनियर भए पनि भारतमा कमान्डो तालिम गर्दाको रुम पार्टनर हुनुहुन्थो । हामीले मध्यरातसम्म गफिँदै पुराना कुराहरू सम्झियौं । हास्यौं, रमायौं र बेला बखत गम्भीर पनि भयौं ।

विशेष गरी गम्भीर त्यतिखेर भयौं, जब सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइरालाको प्रसंग आयो । रञ्जन राजेन्द्र सरको ब्याचमेट, अनि मैले कुनै दिन नेपाल पुलिस एकेडेमीमा प्रशिक्षक भएर सँगै काम गरेका प्रहरी अधिकारी हुन् । पछि म महाराजगञ्ज वडा प्रहरी कार्यालयको इन्चार्ज हुँदा उनी सोह्रखुट्टे वडा प्रहरी कार्यालयका इन्चार्ज थिए ।

मैले राजेन्द्र श्रेष्ठ सरसँग रञ्जन कोइरालाले अपराध स्वीकार गरेको त्यस क्षण र उहाँको अनुभूतिका बारेमा जिज्ञासा राखेको थिएँ । उहाँले भन्नुभएको थियो ‘शिवजी, म र भाउजू कति दिनसम्म रोयौं, जब अभियोग अस्वीकारिरहेका रञ्जन कोइरालालाई मैले ‘रञ्जन, तिमीलाई पुलिसले कसरी काम गर्छ, राम्ररी थाहा छ, सत्य तथ्य बताएनौ भने अरू उपाय गर्छु’ तब घोरिएर बसेका रञ्जन कोइराला एक्कासी बोले मैले गरेको हुँ, म सकिएँ ।

उहाँको कुरा सुनेर एकछिन सन्नाटा छाएको त्यस क्षणमा मैले कुनै दिन रञ्जन कोइरालासँग सहकार्य गरेका दिनहरू सम्झिएको थिएँ । जब उनले अपराध कबुल गरेको समाचार पढेँ, ‘कैयौं दिनसम्म सहकार्य गरेका व्यक्तिबाट यस्तो कसरी भयो होला, अनि कसरी गर्नसक्यो होला ‘ भनेर छट्पटिएको थिएँ । त्यही प्रसंगमा एक पत्रिकामा मेरो लेख प्रकाशित भएको थियो ‘प्रहरीमा तनाव व्यवस्थापन ।’

त्यसबखत नेपाली मिडियामा रञ्जन कोइराला छाएका थिए । अहिले नेपाली मिडियामा फेरि छाएका छन् । किनकि, श्रीमतीको हत्या गरेर अपराध लुकाउन लास नै जलाएको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका उनको कैद प्रधानन्यायाधीशसहितको इजलासले घटाइदियो ।

पूर्वडीआइजी रञ्जन कोइरालाले श्रीमतीको हत्या मात्रै गरेनन्, लास नै दबाए । प्रहरी अनुसन्धानमा संकलित प्रमाणका अगाडि बाध्य भएर अपराध स्वीकार गरे । पछि अदालतमा वयान फेरे । जिल्ला र पुनरावेदन अदालतमा अपराधी प्रमाणित भएर हदैसम्मको सजायको भागिदार भएका कोइरालालाई प्रधानन्यायाधीशसमेतको इजलासले सजायँ मिनाहा गरेपछि यसले एउटा तरंग सिर्जना भयो ।

आफ्नी श्रीमती अर्को पुरूषसँग लसपस भएपछि आवेशमा खुकुरीले हानेर त्यही खुकुरीसहित प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्तिका लागि अदालतले केही गर्न मिलेन ।
यता, आफैँ अरू केटीसँग सम्बन्ध भएका कारण श्रीमतीलाई आफ्नो बाटोबाट हटाउन योजनासहित कर्तव्य गर्दै प्रमाण नष्ट गर्न सबै हर्कत गर्ने व्यक्तिको सजायँ घटाउने गरी फैसला भएको देखियो । जसले गर्दा अहिले म तिनै खुकुरी लिएर प्रहरीको अगाडि उभिइरहेका ती निरीह वृद्धको अनुहार सम्झिरहेछु ।

सँगसँगै सम्झिरहेछु, तिनै सज्जन न्यायमूर्ति, जसले भनेका थिए- बाबु ! न्यायाधीशको तजबिजी अधिकार हुँदैन । न्यायाधीशले विवेक प्रयोग गर्‍यो भने न्याय बिग्रिन्छ । न्यायाधीशले त अनुसन्धानकर्ताले जे पेश गरेको छ, त्यसैभित्रको तथ्यमा प्रवेश गरेर न्याय दिने हो।

प्रतिकृया दिनुहोस्