Monday, October 19

‘जुन समाजले मलाई स्वीकार्दैन, त्यही समाजका लागि लड्दैछु’

July 30, 2020 117

१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ थियो ।

त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ ।

सुतिरहेका ‘ई’को सामुन्ने टाढैबाट प्रष्ट देखिने प्लेकार्ड थियो– स्वास्थ्य क्षमता वृद्धि गर । इनफ इज इनफ ।

उनी ‘इनफ इज इनफ’ आन्दोलनका अभियन्तामध्ये एक हुन् । सलाइन लिइरहेकी सामायरा पनि उसैगरी पल्टिरहेकी थिइन् ।

ईः र उनी विगत १२ दिनदेखि यही त्रिपालमुनि बसिरहेका छन्, त्यो पनि भोकभोकै । कुनै रहरले होइन । कोरोना भाइरस (कोभिड– १९) को उपचार तथा रोकथाममा सरकारले लापरवाही गरेको भन्दै उनीहरु अनशनमा बसेका छन् ।

इनफ इज इनफका अभियन्ताहरु भन्छन्, ‘सरकारले माग सम्बोधनका लागि पहल गरेको छैन ।’

२५ वर्षीय ‘ईः’ र पुकार बम १२ असारदेखि पाटन दरबार क्षेत्रमा अनशन बसेका थिए । १२ दिन अनशन बसेपछि सरकारसँग १२ बुँदे सहमति भयो र २३ असारमा अनशन तोडियो । तर सहमति गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्तामै कार्यान्वयन गर्ने भनी गरेको सहमति पालना गरेन ।

ईः दोस्रो पटक अनशन बस्दा समायरा पनि आइपुगेकी छिन् । २१ वर्षकी ट्रान्सजेन्डर समायरा समाजशास्त्रमा स्नातक तह अध्ययनरत छिन् । सडक बालबालिकाको शिक्षा र खाना व्यवस्थापनमा काम गर्ने एक संस्थामा स्वयंसेवीका रुपमा कार्यरत उनी अनशन बस्नुको कारण सोध्दा भन्छिन्, ‘देश कोरोनाबाट आक्रान्त थियो । साथीहरु छलफल गर्दै थियौँ । टेबलमा भएको पत्रिकाको हेडलाइनमा आँखा पर्यो– क्वारेन्टिन स्थलमै महिलाको बलात्कार ! जहाँ सुरक्षित हुन्छ भनेर सरकारले राखेको छ, त्यही यस्तो हर्कत भएपछि यसबारे केही त बोल्नुपर्छ भनेर म आमरण अनशन बस्न आइपुगेँ ।’

अनशनमा बस्नुअघि समायरालाई बुबाले भनेका थिए, ‘जुन समाजले तँलाई स्वीकार्दैन, त्यही समाजको लागि किन आफ्नो स्वास्थ्य जोखिममा पार्छस् ।’ यसले उनलाई भित्रभित्रै पोल्यो तर, अनशन बस्ने निर्णयबाट भने पछि हटिनन् ।

समायरा दोलखाकी हुन् तर उनको परिवार मध्यबानेश्वरमा बस्दै आएको छ । उनी जब १३/१४ वर्षको भइन्, तब आफू ट्रान्सजेन्डर भएको भेउ पाइन् । त्यतिबेलासम्म उनलाई समाज र साथीभाइले फरक खाले व्यवहार गर्न थालिसकेका थिए । ‘शिक्षकले विनागल्ती कुट्थे, मानिसहरु दुर्व्यवहार गर्थे,’ उनी भन्छिन्, ‘साथीभाइले समेत अनेक शब्द प्रयोग गरेर जिस्क्याउँदा नमिठो लाग्थ्यो ।’

तर सहनुबाहेक उनीसँग विकल्प थिएन । ‘१४/१५ वर्षको मानिसलाई रङ, जात वा लिंगका आधारमै दुर्व्यवहार गर्दा पनि केही गर्न नसकिँदो रहेछ,’ उनले भनिन्, ‘त्यतिबेला आत्मविश्वास निकै कमजोर थियो ।’ बरु यस्ता दुर्व्यवहारले जीवनप्रति मोह टुट्थ्यो । ‘समाजको दुर्व्यवहार खप्न नसकिँदो रहेछ,’ समायरा थप्छिन्, ‘आत्महत्याको प्रयास पनि गरेँ । किनकी छोराको रुपमा जन्मिएको मलाई अर्कै रुपमा देख्दा परिवारलाई आत्मग्लानी नहोस् भन्ने लाग्थ्यो ।’

तर परिवारले उनलाई ट्रान्सजेन्डरकै रुपमा स्वीकार गर्यो । परिवारको साथले आत्मबल बढ्दै गयो र उनी अहिले उनको आत्मबल यति बलियो भयो कि सरकारको कमजोरीविरुद्ध अनशन बस्ने हिम्मत जुटाइन् । समाजले आफूलाई स्वीकार नगरे पनि उनीहरुकै जीवनरक्षाका लागि अनशन बसेको भन्दै भन्छिन्, ‘हामी जनताको जीवनरक्षाका लागि आन्दोलनमा छौं तर सरकारले सुनेको छैन ।’

ई र समायराको अनशनस्थलमा करिब १०/१२ जना अभियन्ता नियमित खटिएको वृत्तान्त खनाल बताउँछन् । भन्छन्, ‘उहाँहरुको स्वास्थ्य अवस्था एकदमै कमजोर भइसकेको छ । उहाँहरुको नियमित परीक्षण गर्ने टोलीलाई सहयोग गर्न र अनशनरत साथीहरुको सुरक्षाको लागि रात–दिन खटिइरहेका छौं ।’ सरकारले भने अनशनमा बसेकाहरुको स्वास्थ्यबारे चासो नदेखाएको उनले बताए ।

इनफ इज इनफ आन्दोलन जेठ दोस्रो हप्ताबाट बालुवाटारको प्रदर्शनसँगै सुरु भएको हो । कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन रणनीति सुधार गर्नुपर्ने, आइसोलेसनबाट घर पठाउनुअघि पुनः परीक्षण गर्नुपर्ने, कन्ट्याक्ट ट्रेसिङ र विज्ञ सुझाव समिति गठन गर्नुपर्नेलगायतका माग उनीहरुको छ ।

तर अनशनको १२ दिन पुग्दा पनि सरकारले माग सम्बोधनका लागि चासो नदेखाउँदा अभियन्ताहरु आक्रोशित बनेका छन् । ‘सरकारले हरेक सुधारको कामको लागि गुठी विधेयकमा जस्तै आन्दोलन खोज्छ, कोही मानिस मरेपछि मात्र सोच्छ’, अभियन्ता वृत्तान्त भन्छन्, ‘सभ्य भाषामा भन्दा सरकार मूर्ख छ ।’

यसअघि पनि आफू दबाबमा परेको कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैं भेट्न आएको भन्दै उनले भने, ‘ई’ लगायतका साथीहरु अनशन बस्नु भएको छ । तर सरकार प्रतिपक्ष सबैले कुनै चासो नदेखाउँदा हामी दुःखी भएका छौं ।’

प्रतिकृया दिनुहोस्