Monday, October 19

विशेश्वरको आत्महत्या : कोरोनालाई जिते, गाउँ समाजसँग हारे !

August 1, 2020 71

१७ साउन, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ । र, घरपरिवार, आफन्त र समाजको त्यही दुर्व्यवहार सहन नसकेर धनुषाको एक पुरुषले प्राण त्यागेका छन् ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विश्वेश्वर यादवले झुण्डिएर आत्महत्या गरेका हुन् । तर उनको मृत्युमा समाजको दुर्व्यवहार र सरकारको त्यो निर्णय पनि त्यतिकै जिम्मेवार छ ।

००००

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विशेश्वर, पत्नी र चार जना सन्तानलाई घरमै छोडेर रोजगारीको खोजीमा गत माघमा भारतको राजधानी दिल्ली पुगेका थिए ।

एउटा कम्पनीमा काम पनि पाए । सबै ठीकठाक चल्दै थियो । तर कोरोना भाइरसको महामारीसँगै भारत सरकारले लगाएको लकडाउनका कारण अको जस्तै उनको रोजीरोटीमा धक्का लाग्यो । केही दिनमा सहज होला कि भनेर उनी दिल्लीमै बसे । तर, लकडाउन केही सहज भएपछि तत्काल रोजगारी पाइने सम्भावना टर्दैगर्दा उनले घर फर्किने निर्णय गरे ।

२७ हजार भारुमा गाडी भाडामा लिए र १६ असारमा महोत्तरीको भिठामोड नाका आइपुगे । उनी दिल्लीबाट फर्किएको सूचना पाएको नगरपालिकाले नाकासम्म ट्रक पठाइदियो । विश्वेश्वर त्यही ट्रक चढेर गाउँ आइपुगे ।

उनलाई गाउँकै पर्शुराम तलाउ माविको क्वारेन्टिन राखियो । २६ असार स्वाब दिएका उनलाई कोरोना संक्रमण भएको रिपोर्ट साउन १ मा आयो । लगतै नगराइन नगरपालिकाको गांगुली आइसोलेसनमा सारियो । उनले यहाँ १० दिन विताए ।

लक्षण नभएकाले उनलाई पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा उनलाई घर जान दिइयो । क्वारेन्टिन र आइसोलेसन झलेका उनका लागि यो खुसीको क्षण थियो । तरे सोचे जस्तो भएन ।

अन्तिम पटक पीसीआर जाँच नगरी पठाएका कारण उनलाई परिवारले भित्र नपस्न आग्रह गर्‍यो । बालबच्चा सानै भएकाले डराए । स्थानीय राजकिशोर रजकका अनुसार उनलाई खाना पनि पातमा दिन थालियो । गाउँघरमा मानिसले पनि छुइछिटो गर्न थाले । परिवार र गाउँलेको व्यवहारले आजित उनले स्वाब संकलन गरेर जाँच गरिदिन वडाध्यक्षदेखि मेयरसम्म सबैलाई आग्रह गरे । रजक भन्छन्, ‘विशेश्वरले शुक्रबार पनि मेयरलाई स्वाब जँचाइदिन आग्रह गरेका रहेछन् । तर मेयरले यसतर्फ ध्यान दिएनन् ।’

जनप्रतिनिधिले स्वाब संकलन गर्ने, परिवार र गाउँसमाजले यथास्थितिमा स्वीकार नगर्ने व्यवहारले उनलाई आत्महत्याको बाटोतर्फ डोहोर्‍यायो । उनी शुक्रबार घर नजिकैको बगैचामा झुण्डिएको अवस्थामा भेटिए । शव भेटिएको ठाउँमा धानमा छर्किने किटनाशक औषधिको बट्टा पनि भेटिएको विशेश्वरका दाजु लक्ष्मीले बताए ।

स्थानीय अधिकारकर्मी समेत रहेका रजकले अनलाइनखबरसँग भने, ‘विश्वेश्वर परिवार बालबच्चासँग बस्न चाहेका थिए । त्यसका लागि पीसीआर जाँच गराइदिन आग्रह पनि गरेका थिए । तर सम्बन्धित निकायले सुनुवाई नगर्दा उनले आफ्नो प्राण त्यागेका हुन् ।’

‘मापदण्ड अनुसार नै घर पठाइएको हो’

कोरोना संक्रमित विशेश्वरलाई घर पठाउनु अगाडि पुनः पीसीआर टेष्ट नगरेकै कारण परिवार र समाज घृष्णा, दुव्यर्वहार गरेको देखिन्छ । र, त्यही सहन नसकेर उनले आत्महत्याको बाटो रोजे ।

तर गांगुली आइसोलेसन प्रमुख सन्तोष ठाकुर भन्छन्, ‘स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नै उनलाई घर पठाइएको हो ।’

पहिला दुई पटकको स्वाब नेगेटिभ नआएसम्म डिस्जार्च गर्न नमिल्ने नियम भएपनि अहिले स्वास्थ्य मन्त्रालयले नियम परिवर्तन गरेको छ । उनी भन्छन्, ‘अहिले स्वाब दिएको दिनदेखि १४ दिन गिन्ती गरी १५औं दिनमा बिना जाँचको घर पठाइदिने नियम बनेको छ ।’

यो अवधिमा कुनै लक्षण देखा नपरेमा घर पठाइदिन मिल्ने भएकाले सोही नियम अनुसार विश्वेश्वरलाई घर पठाइदिएको बताउँछन ठाकुर । तर परिवार र समाजले स्वीकार नगरेपछि पुनः परीक्षणका लागि आग्रह गर्दा किन सुनुवाई भएन भन्ने विषयमा स्थानीय जनप्रतिनिधि मौन छन् । मेयर अनिल यादव सम्पर्कमा आएनन् ।

विश्वेश्वरको मृत्यु भएपछि उनकी ३३ बर्षीया पत्नी मन्जु, १० बर्षीया छोरी पूजा, ७ बर्षीय छोरा रुपक, ५ बर्षीया छोरी राधिका र ३ बर्षीय छोरा नितेश टुहुरा भएका छन् । पत्नी मन्जु भन्छिन्, ‘कोरोनाले मेरो संसार नै उजाड गरिदियो । अब छोराछोरीलाई कसरी पाल्ने ?’

प्रतिकृया दिनुहोस्