Thursday, October 22

अस्पतालको गोलचक्कर : यस्तो मृत्यु कसैको नहोस् !

August 4, 2020 141

१९ साउन, वीरगञ्ज । ‘रिपोर्ट नआएकाले बुबा आत्तिएर सिरियस हुनुहुन्छ । पिसाब पनि रोकिएको छ । के गर्ने होला म्या’म ?’ साउन १३ गते मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एसपी गंगा पन्तलाई एक व्यक्तिले रुँदै फोन गरे ।

एसपी पन्तले नआत्तिकन कुरा राख्न आग्रह गरिन् । फोन गर्ने व्यक्ति पप्पुकुमार गुप्ता रहेछन् । वीरगञ्ज–६ माईस्थानका उनको बुवा राजेश्वरको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको थियो ।

मिर्गौलाका बिरामीसमेत रहेका ७० बर्षीय गुप्ताको साउन ११ गते आइतबार कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर मंगबारसम्म रिपोर्ट आएन ।

बिरामीको अवस्था गम्भीर भएको थाहा पाएपछि एसपी पन्तले बुबालाई अस्पताल लैजान गुप्तालाई आग्रह गरिन् । नारायणी अस्पतालका डा. निरज सिंहसँग समन्वय गरिदिइन् ।

नारायणी कोभिड अस्पतालमा ड्यटीमा रहेका डा. सिंहले नेशनल मेडिकल कलेजमा लैजान सल्लाह दिए ।

तर नेशनलले भर्ना लिन मानेन । एसपी स्वयंले अस्पताल प्रशासनलाई आग्रह गरिन् । त्यसपछि भर्ना त लियो तर उपचारको क्रममा १४ गते मृत्यु भयो । त्यसपछि आएको आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भयो । नेपाली सेनाको टोलीले उनको अन्त्येष्टि गरेको छ ।

‘डाक्टर आएर उपचार शुरु गर्ला भनेको त मसँग सोधपुछ गर्न थाले । आजै तराईमा जचाएको रिपोर्ट छ, त्यही हेरेर उपचार शुरु गर्नुस् भन्दा उल्टै तराईले किन रिजेक्ट गर्‍यो थाहा छ ? भनेर सोध्नुभयो’ उनी भन्छन् ।
पप्पु भने बुवाको मृत्युमा वीरगञ्जका अस्पताल दोषी देख्छन् । अस्पतालमा जाँदा पीसीआर रिपोर्ट खोजेर भर्ना नलिएको उनले बिर्सिएका छैनन् । एउटा, दुइटा होइन, वीरगञ्जका हरेक अस्पताल पुगेका थिए उनी । तर कुनै पनि अस्पतालले भर्ना लिन नै मानेन । भर्ना लिएको अस्पतालले पनि समयमा अक्सिजन नचढाएको उनको दाबी छ ।

०००

राजेश्वरले उच्च रक्तचाप र थाइराइडको औषधि नियमित खाइरहेका थिए । स्वास्थ्यमा समस्या बढेपछि एक साता घरमै आराम गरे । साउन ९ गते वीरगञ्ज हेल्थ केयरमा उपचार गराए । तर सुधार नभएपछि अरु अस्पतालमा उपचारका लागि जाँदा पीसीआर रिपोर्ट मागेर हैरान पारे ।

पप्पुकाअनुसार उनले बाबुलाई शुक्रबार राति १० बजेतिर वीरगञ्ज हेल्थ केयर लगेका थिए । त्यहाँ आरडीटी विधिबाट एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । रगत जाँच्नुका साथै एक्सरे गराए, इमर्जेन्सीका डाक्टरले औषधि लेखिदिए । तर अस्पतालमा भर्ना लिन मानेन ।

शनिबार राजेश्वरलाई गाह्रो भयो । तत्काल तराई अस्पताल लैजान पप्पुले भाइलाई अह्राए । अस्पतालमा अघिल्लो दिनको रिपोर्टलाई खासै वास्ता गरेन । आफ्नो ल्याबमा रगतलगायत जाँच शुरु गर्‍यो । एक घण्टाजति राखेपछि रिपोर्ट आयो र उपचार रोके । ‘उहाँलाई कोभिडको लक्षण छ, पीसीआर रिपोर्ट लिएर आउनुस् भन्न थाल्यो । भाइले उपचार गराउनुस् पीसीआर गराएर ल्याउँला भन्दाभन्दै मानेनन्’ पुप्पुले भने ।

एम्बुलेन्स बोलाएर गण्डक अस्पताल लैजान सुझाए । उनीहरुले एम्बुलेन्समा राखेर गण्डक पनि लगेका हुन् । तर रिपोर्ट पोजेटिभ नआएकाहरुलाई राख्न मिल्दैन भनेर फिर्ता पठायो ।

राजेश्वरलाई घरको न घाटको बनाए । गण्डकबाट नारायणी अस्पताल लगेर पीसीआर टेष्ट गरिदिन आग्रह गरे । ‘भाइले एम्बुलेन्स घुमाएर नारायणीमा पुर्‍यायो, तर पीसीआर आज हुँदैन भनेर पठाइदिए । एम्बुलेन्सलाई भित्र छिर्नै दिएन’ पप्पु भन्छन् ।

अस्पतालको व्यवहारले आजित भएका उनीहरुले तराइ अस्पतालमा डाक्टरले दिएको औषधि किने र बाबुलाई घरमा लगे । घर पुग्दा राजेश्वरको अवस्था थप बिग्रिएको थियो ।

त्यसपछि परिवारका सदस्यहरुले बयोधा अस्पताल लैजाने निर्णय गरे । निषेधाज्ञा जारी भएकाले सवारी साधन चलिरहेको थिएन ।

‘धेरैवटा एम्बुलेन्सलाई फोन गरेर बोलायौं, कुनैपनि आउन मानेन’ पप्पु भन्छन्, ‘बल्लबल्ल एउटा रिक्सा तयार भयो ।’ अस्पतालको इमर्जेन्सीमा नेबुलाइजर लगाइयो, सुई दिइयो र डाक्टर आउँदै हुनुहुन्छ भनियो । अक्सिजन दिएपछि राजेश्वरलाई केही सहज भयो ।

तर त्यहाँ पनि बुबाले राम्रो उपचार नपाएको पप्पु बताउँछन् । ‘डाक्टर आएर उपचार शुरु गर्ला भनेको त मसँग सोधपुछ गर्न थाले । आजै तराईमा जचाएको रिपोर्ट छ, त्यही हेरेर उपचार शुरु गर्नुस् भन्दा उल्टै तराईले किन रिजेक्ट गर्‍यो थाहा छ ? भनेर सोध्नुभयो’ उनी भन्छन् ।

कोभिडको आशंका गरिएको भन्दै पीसीआर रिपोर्ट ल्याउन भने । तर आफूहरुले नमानेपछि आईसीयू छैन, भेन्टिलेटर छैन, यहाँबाट लैजानुस् भन्न थालेको पप्पु बताउँछन् । बयोधाले उपचार गर्न मानेन । त्यहीँबाट नेशनल मेडिकल कलेजमा फोन गर्दा भेन्टिलेटर खाली छैन भनेपछि उनले नारायणीमा लैजानु भनेर एम्बुलेन्स बोलाए ।

नारायणीमा पनि उनले उपचार पाएनन् । अक्सिजन, आईसीयू केही छैन भनेपछि आफूहरुले इमर्जेन्सीमा एउटा बेड त दिनुस् भन्दा पीसीआर रिपोर्ट खोजेको उनले सुनाए । ‘पीसीआर पीसीआर ? जति आग्रह गर्दा पनि केही नलागेपछि घर फिर्ता ल्याएँ’ पप्पु भन्छन्, मैले जीवनमा के गल्ती गरेको थिएँ यो यस्तो भोग्नुपर्‍यो मलाई नै थाहा छैन ।’

भोलिपल्ट बिहान आइतबार राजेश्वरको पीसीआरका लागि स्वाब निकालियो । त्यो दिन रिपार्ट आएन । सोमबार, मंगलबार पनि कुर्दा रिपोर्ट आएन । उता राजेश्वरको अवस्था थप बिग्रिसकेको थियो ।

कसैले एसपी गंगा पन्तलाई फोन गर्न सुझाव दिए । पप्पुले फोन गरेपछि उनले नेशनल मेडिकल कलेजमा लैजानुस् सुझाइन् । ‘राति नै एम्बुलेन्स बोलायौं तर बुबा त एम्बुलेन्स चढ्न नसक्ने भइसक्नु भएन’ पप्पु भन्छन्, ‘हामीले बल्लबल्ल अस्पताल पुर्‍यायौं ।’

शुरुमा भर्ना लिनै मानेन । एसपी पन्तले पुनः फोन गरिन् । पीसीआर रिपोर्ट कहिले आउँछ ? भनेर सोधियो । डाक्टरले राति साढे १० बजेसम्म पीसीआर रिपोर्ट नआए बिरामी फिर्ता लैजान्छु भन्ने लेखेर सही गराउनु भने । कहिले गण्डक त कहिले नारायणीको ल्याबमा कुरा गरे । र बल्ल बल्ल अस्पताल इमर्जेन्सीमा भर्ना लिन राजी भयो ।

तर भेन्टिलेटरमा राख्नुको साटो रातभर हातले पम्पिङ गर्नुपर्छ भने । अक्सिजन निकालेर पालैपालो बसेर पम्पिङ गर्न सिकाए । ‘तीन जना दाजुभाई बसेर राति डेढ बजेसम्म पम्पिङ गर्‍यौं’ पप्पु भन्छन्, ‘तर बुबाको अवस्था झन् खराब हुँदै गयो । हामीले डाक्टरलाई बोलायौैं तर आएनन् । र, बुबाले हामी सबैलाई छाडेर जानु भयो ।’

रुँदै भन्छन्, अस्पतालमा समयमै उपचार गरिदिएको भए बुवा बाच्नुहुन्थ्यो । यस्तो मृत्यु कसैको नहोस् ।’

प्रतिकृया दिनुहोस्