Thursday, October 22

गाईजात्रे गफ : सरकारी कर्मचारीको ढाड !

August 4, 2020 29

ढाड अर्थात मानव शरीरको एक अपरिहार्य अंग । एकवारको जुनीमा मान्छे भएर जन्मने सबैले एक थान ढाड त लिएरै आएका हुन्छन् । ढाड बिनाका मान्छे सायदै कोही होलान् ।

मानव शरीरको पृष्ठभागमा, घिच्रोभन्दा मुनि र कम्मरभन्दा माथिको चौडा भागलाई ढाड भनिन्छ । नेपालकै पश्चिमी भेगमा चाहिँ यसलाई अर्कै नामले चिनिन्छ, जुन यहाँ उल्लेख नगरौं ।

मानव ढाडबारे विश्वमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । त्यसमा म पछि आउनेछु । अहिलेचाहिँ ढाडको सार्वजनिक प्रयोग र महिलाको सौन्दर्यमा यसको महत्वमाथि विमर्श गरौं ।

एक महिनाजति अगाडिको घटना तपाईंको मानसपटलमा ताजा नै होला । एक युवतीको ढाड एक हप्तासम्म राष्ट्रिय बहसको विषय बनेको थियो । सामाजिक सञ्जालमा युवतीमाथि नानानौरङ्ग लेखिएका थिए । यही तस्वीरले दुईवटा प्रश्नलाई जबरजस्त रुपले सतहमा ल्याइदियो, के ढाड महिलाको सौन्दर्यको हिस्सा हो ? के यो गोप्य अंग हो ?

ढाड महिलाको सौन्दर्यको हिस्सा हो कि होइन भन्ने जहाँसम्म सवाल छ, म भन्छु– होइन । यदि हुन्थ्यो भने महिलाका आँखा, आँेठ, गाला, कपाल, कम्मरजस्ता अंगहरुको वर्णन गरेर अनेकन गीतबन्दा ढाडको वर्णन गरेर पनि धेरै गीत लेखिन्थे । धेरै कविता र गजल कोरिन्थे ।

जस्तो कि :

तिम्रो ढाडले मलाई भुत्तुकै पार्यो लौन के गरौं…

तिम्रो चिल्लो ढाडमा चिप्लिएर मर्न मन छ मलाई

त्यो ढाड जस्तो यो ढाड भए केकेमा हुन्थ्यो नि

ढाड–ढाड बोलिरहे, ओठले बोल्नै सकेन…

अहँ यस्ता गीतहरु कसैले लेखेको भेटिँदैन । हो, पशुपति शर्माले ढाडमा टेकेर एउटा गीत गाएका छन् । तर, त्यसले पनि ढाडको सौन्दर्य वर्णन गरेको छैन । ‘ढाड दुखेर मारो ऐया ढाड दुखेर मारो’ बोलको गीतले बरु ढाडको बेइज्जत बढी गरेको छ ।

त्यसउसले ढाडलाई महिलाको सौन्दर्यको हिस्सा मान्ने पक्षमा मचाहिँ छैन । किन्तु यो मेरो व्यक्तिगत विचार हो । यसबारे सौन्दर्यशास्त्रीहरुले गम्भीर परामर्श गरेर साझा धारणा बनाउनुपर्ने टड्कारो आवश्यकता छ ।

अब आउँ दोस्रो र महत्वपूर्ण प्रश्नमा । के ढाड महिलाको गोप्य अंग हो ?

शरीरका गोप्य अंग भन्नाले ती अंगलाई बुझिन्छ, जुन सार्वजनिकरुपमा प्रदर्शन गर्न मिल्दैन । महिलाले आफ्नो ढाड सार्वजनिकरुपमा देखाउन मिल्ने वा नमिल्ने सवालमा देशको संविधान र कानूनले केही बोलेको छैन । न त कुनै धार्मिक ग्रन्थले पनि यस विषयलाई प्रकाश पारेका छन् । अतः हामी आफैंले यसको निक्र्यौल गरेर भावी पुस्तालाई मार्गदर्शन गर्नुपर्ने आवश्यकता आइलागेको छ । अन्यथा भावी पुस्ता पनि हामीजस्तै कुहिरोको काग नै बनिरहनेछ ।

परापूर्वकालमा महिला दिदी–बहिनीहरुले शिरदेखी पाउसम्मका अंगहरु छपक्क छोप्नेगरी लुगा लगाउँथे । हातको पाखुरा वा खुट्टाको पिँडुला देखियो भने पनि उछृंखलता मानिन्थ्यो । पुरुषहरु तरंगित बन्थे । तर, समयक्रममा बिस्तारै तलको पहिरन माथि सर्दै र माथिको पहिरन तल झर्दै आयो । यही अन्तरसंघर्षको कोपभाजनमा पर्यो महिलाको ढाड । महिलाहरुको पहिरन छोटिँदै र पातलिँदै जाँदा सबैभन्दा बढी हण्डर ढाडले नै खेप्नुपरेको इतिहास साक्षी छ ।

पछिल्लो समयमा हाम्रा महिला दिदीबहिनीले लगाउने चोलोको साइज घटेर ढाडपट्टि ह्वांगै हुन थालेको छ । गरिबले गर्दा कपडा फारु गरिएको बिलकुल होइन । ढाडमा जति कम कपडा चोलो त्यति महंगो पर्दोरहेछ भन्ने दिव्यज्ञान मलाई आफ्नै विवाहपश्चात भएको छ । आजकाल त विवाह तथा पार्टीमा जाँदा पुरै ढाड छोपिने चोलो लगाउने महिला भेट्न त्यति नै मुस्किल पर्छ, जति भ्रष्टाचारले नगन्हाएको नेता भेट्न । चोलो शरीरमा अड्याउने प्रयोजनका निम्ति वाध्यात्मकरुपमा ढाडतर्फ झिनो कपडा वा डोरी प्रयोग गरिएको देखिन्न्छ ।

नेपाली महिलाको परम्परागत पहिरनको त यो दुर्दशा छ भने अरु आधुनिक पहिरनको के कुरा गर्नु । कुनै कुमबाट अलि तल झरेका, कुनै निकै तल झरेका पोशाकहरु अहिलेको फेसन ट्रेन्डमा छन् । पछाडि पुरै ह्वांगै भएका लत्ताकपडालाई ‘ब्याकलेस ड्रेस’ भन्दा रहेछन् ।

ढाडलाई गोप्य अंग नमानेर/नठानेर नै यस्ता पहिरनहरुको आविष्कार भएको हुनुपर्छ । होइन भने त अहिलेसम्म ‘फ्रन्टलेस ड्रेस’ पनि त बजारमा छ्याप्छ्याप्ती भइसकेका हुन्थे होलान् । नेपालमा नभए पनि विकसित देशमा फ्रन्टलेस जामा लगाएका युवतीहरु यत्रतत्र देखिन्थे होलान् । दुई–चार वर्षमा वर्षमा त्यो ट्रेन्ड आयो भने छुट्टै कुरा । अहिलेसम्म चाहिँ छैन ।

यो आम महिलाको कुरा भयो । अब कुरा गरौं, सरकारी जागिर खाने महिला कर्मचारीको । आम महिलाका लागि खुल्ला भए पनि महिला कर्मचारीका लागि चाहिँ ब्याकलेस पहिरन अझै स्वीकार्य बनिनसकेको ताजा घटनाक्रमबाट बुझिन्छ । अझ, सरकारी सवारीसाधन प्रयोग गर्दा त यस्तो कपडा लगाउनु भनेको आफ्नै खुट्टामा बञ्चरो हानेसरह हुँदो रहेछ । प्रश्न उठ्छ, आखिर सरकारी कर्मचारीलाई मात्र किन यो विभेद ? के उनीहरुको डाढ अरु महिलाको भन्दा फरक हुन्छ ?

वास्तवमा भन्नुपर्दा यो सबै कचिंगल सरकारको कमजोरले उत्पन्न हो । यदि सरकारले पहिल्यै यस विषयमा निश्चित मापदण्ड बनाएको भए यो कचिंगल उब्जिने थिएन । सरकारी कर्मचारीले डिप्रेसनमा जानुपर्ने थिएन ।

अब जे भयो, भयो । अब भोलिका दिनमा यस्तो नदोहोरियोस् भनेर सरकारले तत्काल कदम चाल्नुपर्छ । महिलाको ढाडलाई ‘अर्द्धगोप्य अंग’का रुपमा परिभाषित गरी देखाउन मिल्ने र छोप्नुपर्ने सीमा निर्धारण गर्न एउटा शक्तिशाली आयोग गठन गरियोस् । यस्तो आयोगले दिने प्रतिवेदनका आधारमा कानूनको तर्जुमा गरियोस् । उक्त कानून बमोजिम १६ वर्ष नाघेका सबै युवती र महिलाहरुको ढाडमा चिनो लगाउने काम तदारुकताका साथ सम्पन्न गरियोस् । यस कामका लागि प्रदेश सरकार र स्थानीय तहहरुलाई परिचालन गर्न सकिन्छ ।

सरकारी कर्मचारी र अन्य महिलाहरुको हकमा फरक–फरक मापदण्ड कायम गर्नु वाञ्छनीय हुन्छ जस्तो लाग्छ । आम महिलाका लागि दुई बित्ता र सरकारी कर्मचारीका लागि एक वित्ताको सीमांकन गरेर सर्प पनि मर्ने र लौरो पनि नभाँचिने गरी समाधान निकाल्न सकिन्छ ।

अन्त्यमा, तपाईंको जानकारीका लागि मिडियामा नआएको एउटा प्रसंग । सरकारी कर्मचारीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहँदा यो विषयले बालुवाटारमा पनि प्रवेश पाएको रहेछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच या विषयमा चर्काचर्कीले नै परेको उच्च स्रोतले यो लेख लेख्दालेख्दै मलाई बतायो ।

विषय प्रवेश प्रचण्डले यसरी गराएका रहेछन् :

‘यो त अत्ति भो भन्ने हाम्रो ठम्याइ हो । के यही दृष्य देख्नका लागि हामीले महान जनयुद्ध लडेका हौं ?’

देउवा : के अत्ति भो भन्देखुनलाई ?

प्रचण्ड : सामाजिक सञ्जालमा हेर्नुभएको छैन ? मने अहिले एउटा तस्वीर भाइरल भएको छ नि । हेरेर म एकछिन त भावुक नै भएँ । (आँशु पुछ्दै) दुरददराजका महिला दिदीबहिनीहरु गरिबीले गर्दा आङमा एकसरो लुगा लगाउन सक्दैनन् । तर, सरकारी जागिर खानेले यसरी सार्वजनिक स्थानमा अंगप्रदर्शन गर्दै हिँड्ने कुरा सामाजिक न्यायको पक्षमा छैन । यस्ता उछृंखल तत्वहरुविरुद्ध हामी सचेत हुनुपर्छ । हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम तुल्याउने र सिध्याउने षडयन्त्रको अंगका रुपमा मैले यसलाई लिएको छु । सरकारले यस विषयमा प्रष्ट धारणा ल्याउनुपर्छ । होइन भने आजै गुठको वैठक गरेर…

प्रचण्डलाई रोक्दै ओली : मलाई ताजुब लाग्छ । मलाई आश्चर्यचम्म लाग्छ, मलाई आश्चर्य लाग्छ । नांगै हिँडेको स्थिति त होइन नि । रिसाएको बिरालोले खाँबो चिथोर्न खोजेजस्तो एउटा महिलाको ढाडमाथि किन खनिनुपर्यो ?

हुन त तपाईंहरुको अप्ठेरो पनि म बुझ्छु । सरकारले चारैतिर राम्रैराम्रा काम गरेको छ । जतासुकै चमत्कार गरेको छ । खोट लगाउने ठाउँ नै नभएपछि यस्तै खुद्रामसिना कुरामा विरोध गर्ने त हो ।

देउवा : नहँसाउनुस् न यार । आज गाईजात्रा त होइन नि बाबा ।

ओली : सुन्नुस् । ढाड देखाउनु भनेको कुनै पनि हिसाबले अमर्यादित होइन । जोसँग जे राम्रो छ त्यही देखाउने हो । उहाँको ढाड राम्रो थियो होला देखाउनु भो । गलफत्ती गरेर हुन्छ ?

अनि ओलीको सुरु भयो :

वास्तवमा भन्नुपर्दा ढाड भनेको शरीरको यस्तो अंग हो, जसले एउटा मान्छेलाई सिधा अड्याएको हुन्छ । कल्पना गर्नुस् त ढाड नहुँदो हो त मान्छे कस्तो देखिन्थ्यो ? मैले पढेअनुसार मान्छेको ढाडभित्र ११ लाख ११ हजार ११ हजार एक सय ११ वटा हड्डी हुन्छन् । त्यस्तै ११ करोड ११ लाख ११ हजार ११ हजार ११ सय ११ वटा कोषहरु हुन्छन् । ढाडमा दैनिक औसत ३५ मिलिलिटर रगतको सञ्चालन हुन्छ । दैनिक बेसार पानी खानुभयो भने १ वर्षमा ढाडका हड्डीहरु १० गुणा बलिया हुन्छन् ।

अर्को रोचक कुरा सुनाउँछु । मानव ढाडको आविष्कार पनि सबैभन्दा पहिले नेपालमै भएको हो । यो तथ्यलाई अब विश्वभर फैलाउनुपर्छ ।

देउवा (रोक्दै) : अब तपाईं बढ्ता बोल्दै हुनुहुन्छ । कसले भन्यो ढाडको आविष्कार नेपालमा भएको हो भनेर ?

ओली : मैले भनेको ! भर्खरै भनेको सुन्नुभएन ?

प्रतिकृया दिनुहोस्