Wednesday, October 28

गोर्खा सैनिकका विषयमा फेरि अर्का भारतीय पूर्व राजदूतले दिए नेपाललाई चुनौती

August 11, 2020 64

काठमाडौं। नेपालले भारतीय सेनामा गोर्खा सैनिक भर्तीमा कडाइ गर्ने र बन्द नै गर्न सक्नेसम्मको संकेत गरेपछि यसले भारतमा तरंग ल्याएको छ । नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार दैनिक ट्रिब्यूनमा लेख लेख्दै नेपाललाई चुनौती दिएका थिए । पुरीले नेपालले गोर्खा भर्ती बन्द गर्ने अवस्थामा भारतमै रहेका गोर्खा समुदायका युवाहरुलाई सेनामा भर्ती गरी भारतीय सेनामा गोर्खा रेजिमेन्टमा आवश्यक सैनिकको पूर्ति गरिने बताएका थिए । लगत्तै अर्का पूर्वराजदूत रञ्जीत रेले पनि नेपाललाई चुनौती दिएका छन् ।

द इकोनोमिक टाइम्समा लेख लेख्दै पूर्जराजदूत रेले १९४७ को नेपाल, भारत र बेलायतबीचको सन्धिको औचित्य समाप्त भएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइले नेपाल भारत सम्बन्धमा अर्को समस्या थप्ने बताएका छन् । रेले पनि पुरीको दावीकै समर्थन गर्दै नेपाली गोर्खालीहरुलाई पहिलो पटक शिख महाराज रणजीत सिंहले भर्ती गरेपछि शिख राज्यको राजधानी लाहोरको सेवा गरेको अर्थमा लाहुरे भनिएको बताएका छन् ।

रेले नेपालको पोखरा र धरानमा ब्रिटिस सेना र भारतीय सेनामा भर्ती हुन तालिम दिने एजेन्सीहरुको बारेमा उल्लेख गर्दै नेपालमा गोर्खा भर्ती निकै लोकप्रिय रोजगारीको अवसर मानिने दावी गरेका छन् । गोर्खा सैनिकमा भर्ती हुन हजारौं नेपाली युवाले आवेदन दिने उल्लेख गर्दै रेले यो सम्भवतः उनीहरुको दृष्टिकोणमा उनीहरुका लागि गरिबीबाट माथि उठ्ने एकमात्र बाटो हुन सक्ने दावी गरेका छन् । नेपालको चिन्ता बेलायती सेनामा अन्य सैनिक र गोर्खाली सैनिकबीच भएको भेदभावका विषयमा हुन सक्ने भन्दै उनले भारतीय सेनाको हकमा गोर्खाली भारतको लागि गौरवको विषय भएको बताएका छन् ।

भारतले गोर्खा सैनिकलाई अन्य सैनिकलाई भन्दा कुनै विभेद नगरेको, ३५ हजार गोर्खा सैनिक भारतीय सेनामा तैनाथ भएको र १ लाख २५ हजार अवकाशप्राप्त गोर्खा सैनिक नेपालमा रहेको उल्लेख गर्दै उनीहरुका माध्यमबाट नेपालमा ४ हजार २ सय करोड भारु भित्रिने रेले उल्लेख गरेका छन् । यसबाट नेपालको कूल गार्हस्थ उत्पादनको २ प्रतिशत ओगटिएको दावी गर्दै रेले तीन देशबीच भएको त्रिदेशीय सम्झौतालाई द्विपक्षीय सम्झौतामा बदल्नु निकै कठिन भएको समेत दावी गरेका छन् ।

सम्झौता पुनरावलोकनले ‘पेन्डोराको बक्स’ खोल्ने दावी गर्दै रेले भनेका छन् ‘भर्तीका शर्तहरुका विषयमा छलफल गरिनु र सेवा सुविधाको विषयमा छलफल गरिनु एउटा कुरा हो तर नेपाली गोर्खालीहरु नेपालसँग मित्रवत सम्बन्ध भएका देशहरुसँगको द्वन्द्वको क्रममा तैनाथ गरिनु हुँदैन भनेर माग गरिनु अर्कै विषय हो ।’ उनले नेपालका मित्रराष्ट्रसँग भारतको द्वन्द्व हुँदा नेपाली गोर्खाली सेना तैनाथ नगर्ने कुरा अस्वीकार्य भएको बताएका छन् । उनले नेपालले २ सय वर्ष पुरानो प्रचलनलाई पुनर्विचार गर्ने क्रममा धेरै कुरालाई विचार गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्