Tuesday, October 27

सावधान ! कुखुराको मासुमा पनि देखियो कोरोना संक्रमण

August 13, 2020 189

काठमाडौँ – मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ ।

विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् ।

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्वीर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।

मन्त्रालयका अनुसार अहिले मुलुक दोस्रो तहको सङ्क्रमणमा छ । “निश्चिम क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन”, मन्त्रालयका प्रवक्ता डा गौतमले भन्नुभयो, “काठमाडौँसहित पर्सा, रौतहट र महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रामा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।” उहाँले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताउनुभयो । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ”, डा गौतमले आक्रोशपूर्ण रुपमा भन्नुभयो ।

जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । मुलुकभर बन्दाबन्दी घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तरराष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ ।

यसै क्रममा विश्वका बिभिन्न देशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । मानिसहरुमा देखिएको कोरोनाभाइरस पछिल्लो समय विभिन्न जनावरमा पनि देखिएको तथ्य फेला परेको छ । यस्तै चीनमा ल्याइएको कुखुराको मासुमा पनि कोरोनाभाइरस देखिएको छ । ब्राजिलबाट चीनमा ल्याइएको कुखुराको मासुमा कोरोनाभाइरस फेला परेको न्यु योर्क पोष्टले जनाएको छ ।

सेन्जेन शहरमा नियमित कोरोना जाँचको क्रममा कुखुराको मासुमा कोरोनाभाइरस फेला परेको हो । न्यु ओर्क पोष्टका अनुसार प्याक गरिसकिएको कुखुराको पखेटामा कोरोनाभाइरस देखिएको हो । पछिल्लो समय चीनमा कोरोनाभाइरसको संक्रमण कम देखिन थालेको छ । हालसम्म चीनमा ८४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जमध्ये ७९ हजार ३ सय ९८ जना निको भइसकेका छन् । चीनमा अहिले सक्रिय कोरोना संक्रमित ७ सय २४ जना मात्र रहेका छन् ।

त्यस्तै यसैबीच पेरिसको गैर पेयजलको श्रोतमा कोरोना भाइरसको संक्रमण पाइएको छ । पानीमा कोरोना भाइरसको संक्रमण फेला परेपछि विश्वमा कोरोनाको महामारीले अर्काे रुप लिएको आँकलन गर्न थालिएको छ । तर शहरका अधिकारीहरुले भने गैर पेयजलमा कुनै संक्रमणको खतरा नरहेको बताएका छन् ।पेरिसको जल एजेन्सीको प्रयोगशालाले शहरका बिभिन्न क्षेत्रमा लकडाउन पछि तत्काल पेय जलका २७ नमुना परिक्षण गरेको थियो । त्यसैबेला २७ मध्येका ४ नमुनामा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

प्रतिकृया दिनुहोस्