Tuesday, October 27

‘डाक्टर चोर देश छोड’ नारा सुन्दा धुरुधुरु रोएँ !

August 13, 2020 361

नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमा कोरोना अत्याधिक संक्रमण देखिएसँगै अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेर कोभिड-१९ का जटिल बिरामी मात्र भर्ना गर्न थाल्यो। त्यसकारण अस्पताल अन्य बिरामी रिफर गर्न बाध्य भयो। तर, अन्यत्र लगेका केही बिरामीलाई बचाउन नसक्दा नारायणी अस्पताल रणभूमि बन्न पुग्यो।अनि ज्यान नै हत्केलामा राखेर उपचारमा तल्लिन चिकित्सक र स्वास्थ्यकर्मी माथि जाईलाग्न पुगेका हुलका हुल जमातले ‘डाक्टर चोर,देश छोड’ भन्दै नारा लगाए।

कोभिड१९ कै रोकथाम, नियन्त्रण र उपचारमा अहोरात्र लाग्दा र चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफैं संक्रमित हुने अवस्था आउँदासमेत अमानवीय व्यवहार हुनु मलगायत सबै चिकित्सकका लागि दुःखद खबर हो।

 

अस्पताललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बेलामा मनोबल गिराउने यस्ता कार्य हुँदा मन नै विक्षिप्त हुन्छ। किन यतिविघ्न खटिन परेको छ डाक्टरलाई ? हर हमेशा सहानुभूति र मानवतामा किन चमत्कारी बन्न परेको छ डाक्टरलाई ? यस्तो महामारीमा उपकरण छैन, पिपिई छैन, प्रोत्साहन छैन भन्दै आराम गर्न किन सक्दैन डाक्टर ?

किनकि डाक्टर अनभिज्ञ छ, नाम स्वास्थ्य मन्त्रालय भएर पनि अस्वस्थ कमिसनको खेलहरुमा। किनकि डाक्टर आशावादी छ गृह मन्त्रालयले जारी गर्ने शान्ति सुरक्षाका ग्यारेन्टीयुक्त हुकुमहरुमा।

अझै बुझ्दैन एउटा सोझो डाक्टर कसरी बिरामीको ज्यान जोगाउन खोज्दा खोज्दै हातपात हुन्छ उस्को शरीरमाथि ? सायद यति नै बेला आलिसान सिहंदरबार ङिच्च परेर गिज्याइरहेछ चोटका डामहरुलाई, अनि देशको प्रशासन मुसुमुसु हाँसिरहेछ।

देख्नेहरुलाई सेतो एप्रोन र चिटिक्क पोसाकमा रहरलाग्दो छ पेशा।सरकारलाई बिरामीको रोग किन च्याट्टै पारिनस् भनेर स्पष्टीकरण सोध्नलाई सजिलो छ पेशा।घर पुग्दा अँध्यारो हुन्छ, घरबाट निस्कँदा बल्ल घाम झुल्किन्छ। छोराले ड्याडी भन्न पाउँदैन । दमका रोगी बाबुलाई तातोपानी खुवाउन पाइँदैन। थाकेर बेलुका चाँडैं सुतिन्छ, आडैमा सुतेकी श्रीमती सुम्सुम्याउनसमेत अर्लाम बजाउनुपर्छ। एउटा डाक्टर घर पुग्दा परदेशी आएझै सबैजना आँखा तन्काएर हेर्छन् । छुट्टिएर हिँड्दा कोरोना सम्झिएर आँखा न्यास्रो पार्छन्।

आखिर पैसाकै लागि डाक्टर दौडिएको त होइन नि। तर, समयजस्तै डाक्टरको जिन्दगी भित्तामा झुण्डाएको घडी जस्तै छ, आफ्नै तालमा छ सोच विचार गर्दैन । तर, कुदिरहेछ नि:सन्देह निःस्वार्थ। आखिर डाक्टर पनि त मान्छे न हो! हातपात गर्नलाई कुनै अपराधी त होइन नि।

डाक्टरको जिन्दगी खाली किटाणु-विषाणु, लब-ढब मात्र रहेनछ।समरभुमिमा जसरी योद्धा लड्छ उसैगरि महामारीमा चेतावनीलाई लक्षण सम्झिएर अभावलाई चुनौति सम्झिएर, हरेक आत्मजिज्ञासा र त्रासहरुमा अस्पताल रुपी युद्ध भूमिमा एक्लै लड्दो रहेछ।जति नै आँखा चिम्लिउन् शासकहरुले, दुनियाँ ढाकून् भाषणहरुले, हातपात गरुन् बिरामीका आफन्तहरुले, एक्लै लडिरहँदो रहेछ । बस् एक्लै लडिरहँदो रहेछ । तर, आखिर कहिलेसम्म?।

आफ्ना छोराछोरी सानो हुँदादेखि नै डाक्टर नै बन्नुपर्छ भन्ने मान्यतामा आम समाज विकसित छ।सन्तानको चाहनाको विषयभन्दा पनि करलाग्दी वा देखावटीरुपमा नै अभिभावक ऋण थोपरेरै भए पनि डाक्टर बनाउन लालयित हुन्छन् ।

यो भन्दैमा डाक्टर बन्नै हुदैंन भन्न खोजेको चै हैन। र, हाल डाक्टरमाथि बढ्दै गइरहेका आक्रमणका घटना र मौन सरकारलाई देखेर पनि डाक्टरी पेशाको अब भविष्य छैन भन्न खोज्या पनि होइन। तर, मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा पाइला टेक्नु भन्दा अगाडि र पछि के-कस्ता दुःखका भूमरी आईपर्छन् मध्यनजर गर्न मात्र खोजेको हुँ ।

र, अर्को कुरा यस विषय छनोट पछि एउटा विद्यार्थीले चिकित्सक हुन खर्चिने त्याग तपस्या र मेहेनतको कदर सबैले गर्नै पर्छ र यसकै प्रतिफल स्वरूप उसले समाजमा एउटा नाम स्थापित गराउन सक्नुले पनि यो पेशा आकर्षणको केन्द्रमा रहेको बुझ्नु पनि जरुरी छ।

म आफैं पनि चिकित्सा पेशामा छु। मेरी आफ्नै दिदी पनि यही पेशामा हुनुहुन्छ।हामी दुवैले देशकै प्रतिष्ठित चिकित्सा शास्त्र अध्ययन संस्थानबाट अध्ययन गरेका हौं। र, परिवारकै आकलन गर्दा पनि लगभग धेरै नै यही पेशामा आवद्ध हुनुहुन्छ।सायद पारिवारिक देखासिकी र स्व-चाहानाले पनि यसमा केही हदसम्म महत्व राखेको हुनुपर्छ। तर सबैभन्दा महत्वपूर्ण कुरा हामीले लिने महत्वाकांक्षा र गन्तव्यमा निर्धारण हुन जान्छ। के हामीले गर्ने पढाइ र त्यस पशचातको कर्ममा प्रेमपूर्ण रहेर आनन्द लिन सक्छौं ? वा, यो क्रिया निकै नै सकसपूर्ण हुँदै जान्छ? यो प्रश्न मननयोग्य छ।

बिरामी च्याँठिदा, छटपटिँदा मलम लाउने चिकित्सक नहुँदो हो त कति दुख्दो हो घाउ ? हामी सोच्दैनौं। हठात् क्षणिक आवेशमा जाइलाग्छौं र जीवनको मूल्य सिकाउने डाक्टरहरुलाई मरेतुल्य बनाउछौं
अचेल मानसिक तनाव, डिप्रेशन हुँदै आत्महत्यासम्मका घटनाहरु मेडिकल विद्यार्थीमा बढ्दै गइरहेका छन्। महंगो शुल्क, छात्रवृत्तिबाट वन्चित, पढाइको प्रेसर र भविष्यको अन्योल नै यसका कारणहरु हुन्। तर, यी तमाम समस्याहरु झेल्दै पार गरेका चिकित्सकहरुप्रति समाजले गर्ने व्यवहार यस्तै हो त ? जब-जब मेडिकल विद्यार्थीको आत्मविश्वासले प्रेरणा जित्दै जान्छ र अनन्त मन मस्तिष्कका चेत र आह्वानहरु पहिल्याउँछ, उ त्यही कर्मद्वारा आफूसहित परिवार समाज र देश सुधार्न चहान्छ । तर, जब टीभीमा आफ्ना सिनियर चिकित्सकहरु कुटिएको देख्छ, उ अँध्यारोमा छटपटाउँछ, त्यही बोझले थकित भएर गूढ रहस्य भएर बिलाई जान्छ। अनि सोच्न बाध्य हुन्छ,कतै उसको डाक्टर बन्ने निर्णय गलत त थिएन ?

देशलाई कुशल चिकित्सकहरुको धेरै नै आवश्यकता छ। र चिकित्सक बन्न चाहनेहरुको संख्या पनि घटेको देखिँदैन। तर, किन अझै स्वास्थ्य क्षेत्र चिकित्सकको अभावमा गुज्रिरहेको छ त ? यो प्रश्न निकै नै गम्भीर छ। नेपालमा रहेका चिकित्सकहरुलाई उचित सम्मान, अवसर, पारिश्रमिक र सुरक्षाको अभावमा विदेशिने क्रम बढ्दो छ।
र, अर्को कुरा स्वास्थ्य क्षेत्रमा मौलाएको व्यापारले जहिले पनि लगानीकर्ता कै पल्ला भारी हुन्छ तर दुःख गर्ने, व्यहोर्ने चिकित्सकलाई जीवन बाच्न नै धौधौ हुन्छ।

एसएलसीमा सँगै पढ्दा फेल भएको साथीले कोरिया गएर काठमाडौंमा घर बनाइसक्छ । प्लस टुबाट बहकिएर अष्ट्रेलिया छिरेको साथीले आफ्नो लाइफ सेटल गरिसक्छ । तर, एमडी/एमएसपछिको बोन्डिङ सम्मको लामो यात्रामा मिहिनेत गर्ने चिकित्सकले स्वदेशमा नै इलम गर्छु भन्दा चित्त मात्र बुझाउनुपर्छ । यस्तो अवस्थामा छात्रवृत्तिमा नाम ननिकाली पनि ऋण गरेरै भए पनि चिकित्सक बनेकाहरुको हालत कस्तो होला ?

तर, पनि बिरामीको निःस्वार्थ सेवा गर्छु, मेहनेत गरेर आत्मविश्वासका साथ अघि बढ्छु भन्ने चिकित्सकले जति नै मध्यमवर्गीय परिवारमा हुर्के पनि प्रतिस्पर्धात्मक दुनियाँमा छलाङ मार्न उसले सिकेको हुन्छ।त्यसैले चिकित्सकको हौसला मार्ने यस्ता गतिविधिहरु रोकिनुपर्छ।

आजकल मेरो आफ्नै मन पनि छियाछिया हुन्छ, जब सुन्छु, भोग्छु यो कोरोना महामारीविरुद्ध लडिरहेका र अग्रपंक्तिमा रहेर कार्य गरिरहेका हामी चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु नै बिरामीका आफन्तद्वारा अपहेलित छौं। कुटिएका छौं । तर, पनि चुपचाप छौं। एउटा कुनामा बसेर उभिइरहेको, यो दृश्य हेरिरहेको सरकार कसरी कुहिरोको काग बनेर आफैभित्र हराउन सक्छ र ? हामीलाई न्याय दिने उसको तागत छैन र ?

अचेल बिरामी हेर्दा पनि मुटु ढक्क त्रासले फुल्छ। कहीँ कतै मैले बिरामी बचाउन सकिनँ भने ? एउटा अनुत्तरित प्रश्नले सधै पिरोल्छ। हामी त भगवानका कृपाहरुमा विज्ञानको कला, रोगहरु विरुद्ध प्रयोग गर्ने कलाकार न हौं। हाम्रो हातमा के नै हुन्छ र ? छुमन्तर गरेर एकैछिनमा जस्ताको त्यस्तै बनाइदिने जादूगर त होइनौं नि हामी। जन्म-जन्मान्तरसम्मको हाम्रो त्याग र परिश्रममा कति सजिलै यहाँ प्रश्न खडा गरिन्छ। खै ! कुन विषयको टुनाले मान्छेलाई बहकाउँछ र उनीहरु आफ्नै जीवन बचाउने चिकित्सकमाथि जाइलाग्न थाल्छन्। योजस्तो हृदयविदारक क्षण एउटा चिकित्सकका लागि के हुन सक्छ ?

यो पनि पढ्नुहोस
उपचार नपाएर मर्ने क्रम बढेको भन्दै वीरगञ्जमा प्रदर्शन
के हामी कल्पना गर्न सक्छौं, डाक्टर र स्वास्थ्यकर्मीविनाको संसार कस्तो हुँदो हो ? मानिसको दुखाईको भावनासँगै गाँसिदिने डाक्टरको भरोसा नहुँदो हो त संसार कति निर्दयी हुँदो हो । त्यो अँध्यारो कोठरीको जीवनमा मानिसले कसरी मृत्युसँगको लडाई जित्दो हो ? बिरामी च्याँठिदा, छटपटिँदा मलम लाउने चिकित्सक नहुँदो हो त कति दुख्दो हो घाउ ? हामी सोच्दैनौं। हठात् क्षणिक आवेशमा जाइलाग्छौं र जीवनको मूल्य सिकाउने डाक्टरहरुलाई मरेतुल्य बनाउछौं।

हाम्रो देश सानो छ । तर, यहाँका अहंकारहरु ठूला छन्। शीतल हुँदा आगो र अमृत पिलाउँदा विष ओकल्छन्।हामी सत्यको शासनभन्दा आफ्नो मनपरी शासन चहान्छौं।आफ्नै अदालत खडा गर्छौं, आफैं फैसला सुनाउछौं।यही भइरहेको छ ठ्याक्कै अस्पतालहरुमा।

समस्या धेरै छन्, उब्जाउने संयन्त्र धेरै छन्। उपकरण छैन । सुविधा छैन । सरकार लाचार छ । महामारी आइराख्छ, स्वास्थ्यमा जनताको पहुँच छैन । गरिबी ज्यादै छ । अस्पतालहरु व्यवस्थित छैनन् । बाटाघाटाहरु दुर्घटना गर्न तत्पर छन् । सुत्केरी समयमा अस्पतालमा ल्याउन साधन छैनन् । अन्धविश्वास छ । नैरश्यता अनि विवश्ता उस्तै छ। तर, पनि सबै समस्याहरु केही हैनन् जसरी जब अस्पतालमा रोग र संक्रमणको जटिलता द्वारा बिरामीको मृत्यु हुन्छ । हामी डाक्टरमाथि आरोप लगाउछौं। उसकै घाँटी समाउँछौं, उसलाई नै हातपात गर्छौं। किन कि उ निर्धो छ, एक्लो छ। किनकि उ अत्याचार सहन्छ। उ प्रतिरोध गर्दैन। किनकि सच्चा तवरले ज्यान बचाउन खोज्नु उसको धर्म हो । तर, जाइलाग्नु उसको कर्म होइन।

मरण वेदना निम्त्याउने कारण हो। कसैको मृत्यु हुनु एकदम कारुणिक छ।मृत्युमा गम्भीर त्रुटि यदि चिकित्सक वा स्वास्थ्यकर्मीबाट हुन्छ भने त्यो क्षमायोग्य छैन। कानुन बमोजिम सजायँ हुनुपर्छ, सेतो कोट लगाउँदैमा कसैको जीवनमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन।

तर सबै नियम र कानुनसंगत कार्यहरु हुनुपर्छ । चिकित्सकहरुलाई पनि आफ्नो कुरा राख्ने ठाउँ दिनुपर्छ। चक्करमै अडिएर विरोधहरु निम्त्याएर अस्पताल तोडफोड र चिकित्सकमाथिको कुटपिट निन्दनीय छ।

नियमित चिकित्सक र स्वास्थ्यकर्मीमाथिका घटनाहरुमा बेलैमा संवेदनशील हुनुपर्ने आवश्यकता भइसकेको छ। ढिलो नगरौं । ज्यान बचाउने हातहरु नै चोटग्रस्त हुनु राष्ट्रकै विडम्वना हो ।

प्रतिकृया दिनुहोस्