Wednesday, October 28

हिमतालहरु विस्फोट हुने तहमा पुग्दैछन्, सतर्क रहन विज्ञको सुझाव

July 13, 2020 500

२९ असार, काठमाडौं । गत शुक्रबार र शनिबार चार ठाउँको बाढी र १०ठाउँको पहिरोमा परेर ४१ जनाको ज्यान गयो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसन्चालन केन्द्रका अनुसार ती बाढीपहिरोमा ५४ जना बेपत्ता भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले गरेको मौसम विश्लेषण अनुसार असार ३० गतेसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुनेछ ।

भारी वर्षा हुने भएपछि बाढीपहिरोको जोखिम बढ्ने नै भयो । यसरी बाढीपहिरोले जनधनको ठूलो क्षति गरिरहेकै बेला विज्ञहरूले ‘हिमतालहरूमा भरिदै गएको जोखिम’प्रति सचेत गराएका छन् ।

भूगर्भविद्हरूका अनुसार नेपालको कुल भूभागको ८३ प्रतिशत हिमाली र पहाडी क्षेत्र हिमपहिरो तथा हिमताल विस्फोटको समेत जोखिममा छन् । हिमताल विस्फोट भयो भने त्यसले तल्लो तटीय क्षेत्र बगाउँछ ।

‘भरे–भोलि नै हिमताल फुट्न लाग्यो भन्न खोजेको होइन’, वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी भन्छन्, ‘तर विगतका क्षतिहरू हेर्दा हामीले यसलाई उच्च प्राथमिकतामा राखेर सतर्कता अपनाउनुपर्छ ।’

इसीमोड र युएनडिपीको एक मस्यौदा प्रतिवेदनमा ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ
हिमताल फुट्ने महिना

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अधिकारीहरूका अनुसार हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । उनीहरुका अनुसार, साना हिमताल समेत जोमिखपूर्ण हुने मौसम हो यो ।

जलवायु विश्लेषक ङमिन्द्र दाहाल हिमतालका बाँध प्राकृतिक भए पनि एकदमै कमजोर हुने बताउँछन् । उनी भन्छन्, ‘हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट हो, त्यही भएर ताल फुट्ने जोखिम यति बेला नै बढी हुन्छ ।’

नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पुर्‍याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको देखिन्छ ।

भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल विगतमा मार्चमा दुई, अप्रिलमा दुई, मेमा एक, जुनमा तीन, जुलाईमा तीन, अगस्टमा पाँच र सेप्टेम्बरमा एक हिमताल फुटेर बाढी आएको बताउँछन् । उनी भन्छन्, ‘वर्षाको पानीमा हिमताल फुटेर आएको बाढी थपिन जाँदा निकै ठूलो धनजनको क्षति भएका रेकर्डहरु छन् ।’

जोखिमयुक्त ४७ हिमताल

इसीमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले गरेको एक अध्ययन अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ हिमताल छन् । यीमध्ये दुई हजार ७० वटा नेपालमा, एक हजार ५०९ चीनमा र ४५ वटा भारतमा पर्छन् ।

प्रतिवेदन अनुसार हिमतालहरूको बाँधको रुपमा रहेको पहाडको विशेषता, पानीको स्रोत, तालको फैलावट परिवर्तन र आसपासको भू–बनोट आदि विश्लेषण गरे जोखिमयुक्त हिमताल पहिचान गरिएको हो ।

इसीमोड र युएनडिपीको ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको मस्यौदा प्रतिवेदनमा ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ ।

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको कतिपयको आरोप छ
ठूलो क्षतिको डर

इसीमोड र युएनडिपीले खतरा हुनसक्ने भनेका हिमतालहरूमध्ये ४२ वटा कोशी, तीनवटा गण्डकी र दुईवटा कर्णाली (काली/महाकाली) जलाधार क्षेत्रमा छन् । कदाचित्, तीमध्ये कुनै हिमताल फुटे सम्बन्धित नदीको तल्लो क्षेत्रमा रहेका जलविद्युत आयोजना, सडक, पुल, वस्तीहरु विनाश हुन्छ ।

निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका साढे छ हजार मेगावाटका ४६ वटा जलविद्युत आयोजना यी जलाधार क्षेत्रमा छन् । ९०० मेगावाटको अरुण–३, तामाकोशी–३, टिए–३, ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ लगायतका जलविद्युत आयोजनाहरु हिमनदीमा आधारित छन् ।

कुन ताल फुट्दा कति जना प्रभावित हुन्छन् भन्ने अध्ययन गरेका भूगोलका प्राध्यापक डा. खनालका अनुसार लुमुचिमी ताल फुट्यो भने भोटेकोशीका १६ हजार, इम्जा फुट्यो भने दूधकोशीका सात हजार ७६२, च्छो–रोल्पाबाट तामाकोशीका पाँच हजार र थुलगी हिमताल फुट्दा मस्र्याङ्दी क्षेत्रका करिब चार हजार प्रभावित हुने देखिन्छ ।

जोखिम छ, पूर्व तयारी छैन

जोखिमयुक्त ४७ हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित ‘अपडेट’ भइरहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठले बताइन् । उनी भन्छिन्, ‘त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ ।’

हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको कतिपयको आरोप छ । सरकारले थोरै गम्भिरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन् ।

प्राध्यापक खनाल विगतमा भएको क्षति हेरेर पनि हिमबाढीको जोखिम न्यूनीकरणमा ठोस कदम चाल्नुपर्नेमा जोड दिन्छन् । ‘त्यो भनेको हिमतालहरूको नियमित अनुगमन र पूर्वसूचना प्रणाली स्थापना हो’, उनी भन्छन्, ‘त्यसका लागि चाहिने सहयोग जुटाउन सकिन्छ ।’

‘जोखिम घटाउन नेपाललाई चीनको सहयोग चाहिन्छ’

प्रा.डा.नरेन्द्रराज खनाल

नेपालका मुख्य नदी (कोशी, गण्डकी र कर्णाली)र तिनका केही सहायक नदीहरू उत्तरमा चीन र पश्चिममा भारत (महाकाली) सँग अन्तर्राष्ट्रिय ट्रान्सबाउन्ड्री प्रकृतिका छन् ।

यी नदीका माथिल्लो जलाधार क्षेत्र हिउँले ढाकिएको छ । त्यहाँ विभिन्न प्रकारका हिमतालहरू छन् । ती हिमतालहरू अचानक फुटेर आएको बाढीबाट जलाधारको तल्लो भागमा ठूलो परिमाणमा जनधन तथा भौतिक पूर्वाधारको विनास हुने गरेको छ ।

नेपालले हालसम्म २१ वटा हिमताल विस्फोटका बाढी र त्यसबाट भएका विनाश भोगिसकेको छ । हिमताल विस्फोटका २१ घटनामध्ये ११ वटा तिब्बत क्षेत्रमा भएका थिए ।

पछिल्ला दशकहरुमा भइरहेको विश्व जलवायु परिवर्तनको असरले हिमतालहरूको संख्या पनि बढेको छ । युएनडिपी र इसीमोडले २०१५ मा गरेको स्याटलाइट इमेज विश्लेषणमा नेपालको कोशी, गण्डकी, कर्णाली र महाकाली समेतको जलाधार क्षेत्रमा ०.००३ वर्गकिलोमिटर भन्दा ठूला तीन हजार ६२४ वटा हिमताल पाइएको छ ।

तीमध्ये कोशीमा दुई हजार ६४ वटा, गण्डकीमा ४३२ र ११ सय २८ वटा कर्णाली जलाधारमा छन् । तीन हजार ६२४ हिमतालमध्ये दुई हजार ७० वटा नेपालमा, १५०९ वटा तिब्बतमा र ४५ वटा भारतमा छन् ।

त्यसबेला (सन् २०१५ मा) नेपालका मुख्य जलाधार क्षेत्रका ४७ वटा हिमताललाई भविष्यमा खतरा हुने तालको रुपमा पहिचान गरिएको थियो । तीमध्ये ४२ वटा कोशी जलाधार क्षेत्र, तीनवटा गण्डकी र दुईवटा कर्णाली (काली/महाकाली) जलाधार क्षेत्रमा छन् ।

कोशी जलाधार क्षेत्रका ४२ वटा खतरायुक्त हिमतालहरूमध्ये २४ वटा चीनमा र १८ वटा नेपालमा पर्छन् । यसैगरी गण्डकी जलाधार क्षेत्रको तीनमध्ये दुईवटा नेपालमा छन् । कर्णाली (महाकाली समेत) मा रहेको दुईवटा खतरायुक्त तालमध्ये एउटा नेपाल र अर्को भारतमा पर्छ ।

युएनडिपी र इसीमोडको मस्यौदा प्रतिवेदनमा ४७ हिमताललाई तीनवटा प्राथमिकताका आधारमा वर्गीकरण गरिएको छ । पहिलो प्राथमिकतामा ३१, दोस्रोमा १२ र तेस्रोमा चार हिमताल राखिएको छ । पहिलो प्राथमिकतामा रहेका ३१ तालमध्ये १५ वटा नेपाल, १५ चीन र एउटा भारतमा पर्छन् ।

जलाधारको हिसाबले तमोरमा २ (सबै नेपाल), अरुणमा ११ (नेपाल २, चीन ९), दूधकोशीमा ८ (सबै नेपाल), तामाकोशीमा ६ (नेपाल १, चीन ५), सुनकोशीमा १ (चीन), त्रिशुलीमा १ (नेपाल), मस्र्याङ्दीमा १ (नेपाल) र महाकालीमा १ (भारत) हिमताल छन् ।

पहिलो प्राथमिकतामा परेका नेपालका हिमतालमा तल्लो वरुण, चाम्लाङ, होङ्ग १, होङ्ग २, इमजात्सो, लुमदीङ, सोरोल्पा र थुलागी हुन् । गाम्जीको र लुमुचिमी चीनमा पर्छन् ।

प्रथम प्राथमिकतामा पर्ने अरु तालहरूको हालसम्म नामाकरण नभएको हुँदा आक्षांस र देशान्तर उल्लेख गरी तीनको अवस्थिति देखाइएको छ ।

हालसम्म चारवटा (इम्जा र सोरोल्पा नेपालमा र अन्य दुईटा चीनमा) हिमतालको पानीको सतह घटाइ विस्फोट र त्यसबाट हुनसक्ने बाढीको खतरा कम गर्ने प्रयास भएको छ । केही ठाउँमा पूर्वसूचना प्रणाली जडान पनि सुरु गरिएको छ ।

अरु धेरै खतरायुक्त तालहरूको जोखिम घटाउने काम हुन सकेको छैन । यी हिमतालहरुको ‘मनिटरिङ’, पूर्व सूचना प्रणाली स्थापना र सञ्चालनमा विशेष ध्यान दिनु जरुरी छ ।

विगतमा तिब्बतका तालहरू फुटेर नेपालमा क्षति भएका घटनाहरू पनि छन् । यसले के प्रष्ट पार्छ भने हिमताल विस्फोट रोक्न माथिल्लो र तल्लो दुवै जलाधार क्षेत्रका देश मिलेर काम गर्नुपर्ने हुन्छ । मिलेर काम नगरे हिमतालहरूको नियमित अनुगमन र पूर्व सूचना प्रणाली सञ्चालन सम्भव हुँदैन ।

हिमताल विस्फोटको जोखिम न्यूनीकरणमा चीन सरकारसँग मिलेर संयुक्त प्रयास थाले नेपालले धेरै काम गर्न सक्ने सम्भावना छ । यसतर्फ नेपाल सरकारको ध्यान जाओस् ।

प्रतिकृया दिनुहोस्