Monday, October 19

रोनाल्डो र मेस्सी एउटै टिममा हुने हल्लाले फुटबल ट्रान्सफर मार्केटमा ठूलो हलचल

August 14, 2020 53

काठमाडौं। बिहीबार विश्व फुटबलको ट्रान्सफर मार्केटमा निकै ठूलो हलचल आयो । केही मिडिया आउटलेटहरुले स्पेनिस क्लव बार्सिलोनाले क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोना आउन अफर गरेको र रोनाल्डो बार्सिलोना आउन सक्ने दावीसहितका समाचार प्रकाशित गरेपछि फुटबल जगतमा ठूलो हलचल आउनु स्वभाविक नै थियो ।

पछिल्लो समय यी दुईलाई विश्व फुटबलका सर्वश्रेष्ठ खेलाडी मानिन्छ । यी दुईमध्ये को सर्वश्रेष्ठ भन्ने छुट्याउने कुनै मापदण्ड निर्धारण नभएकोले को महान भन्न गाह्रो छ यद्यपि फुटबल फ्यानहरुले अहिले खेलिरहेका खेलाडीमध्येको महान खेलाडीको नाम लिनुपर्दा यी दुईमध्ये कुनै एकको नाम लिने गर्छन् । लामो समयदेखिका कट्टर प्रतिस्पर्धी क्लव रियल मड्रिड र बार्सिलोनाबाट आफूहरुसमेत कट्टर प्रतिस्पर्धीको रुपमा झण्डै एक दशक बिताएका यी दुई सुपरस्टार एउटै टिममा हुने खबरले सबै फुटबल फ्यानहरुलाई उत्साहित बनाउँछ ।

यी दुई खेलाडी एउटै क्लवमा खेल्ने खबरले उत्साहित फुटबल फ्यानहरुको उत्साह भने अब सेलाउने भएको छ । रोनाल्डोको भित्री सर्कलले उनलाई क्याम्प नोउमा बोलाउन बार्सिलोनाले सम्पर्क गरेको खबरको खण्डन गरेको छ । स्पेनिस मिडिया आउटलेट एएसको रिपोर्टअनुसार रोनाल्डोको निकट स्रोतले उनी बार्सिलोना जाने खबर हल्ला मात्र भएको जनाएको छ ।

रोनाल्डो २०२२ सम्म युभेन्टससँग सम्झौतामा छन् । उनले युभेन्टसबाट पनि च्याम्पियन्स लिग जितेर तीन फरक फरक क्लवबाट युरोपको सबैभन्दा ठूलो उपाधि जित्ने विश्वकै दोस्रो खेलाडी बन्ने चाहना राखेका छन् । अहिलेसम्म तीन फरक फरक क्लवबाट च्याम्पियन्स लिग जित्ने एकमात्र खेलाडी क्लारेन्स सिड्रफ हुन् । नेदरल्याण्डका सिड्रफले अयाक्स, रियल मड्रिड र मिलानबाट च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका छन् । यो सिजन भने युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिइसकेकोले रोनाल्डोले यो उपाधि जित्न अर्को सिजन पर्खनै पर्नेछ

प्रतिकृया दिनुहोस्