Wednesday, October 28

लिदी पहिरो : ११ जनाको शव भेटियो, २७ जना अझै बेपत्ता

August 14, 2020 167

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिराले २७ घर पुरेको थियो । घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो ।

घाइतेमध्ये रुपबहादुर दोङ, जानुमाया दोङ, पासाङ दोङ र केवरिङ तामाङसमेत चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ । गम्भीर घाइते यामुल्हामु दोङको मनाङ एयरको हेलिकोप्टरमार्फत उद्धार गरी नयाँ बानेश्वरस्थित नेपाल निजामती अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा आज अपराह्न राहत सामग्रीसहित घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिनुभयो । राहत सामग्रीमा त्रिपाल, म्याट, लत्ताकपडा तथा खाद्य सामग्री रहेको प्रहरीले जनाएको छ । त्यसअघि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगी घटनाका बारेमा जानकारी लिई फर्कनुभएको थियो ।

यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताउनुभयो । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उहाँले भन्नुभयोे, ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’

तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा वि’स्फो’टन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियाँैं’, तामाङले भन्नुभयो े ।

प्रतिकृया दिनुहोस्