Monday, October 19

सात महिने शिशु नै संक्रमित भएपछि…

August 20, 2020 80

प्रश्न– तपाईंको नाम ?

प्रतिप्रश्न– नाम नै त किन भन्नुपर्‍यो र ?

 

अनि, काम नि ?

म स्वास्थ्य क्षेत्रमा छु । सरकारी सेवामा काम गर्छ भनिदिनु न । डिटेल भनेपछि फेरि गाह्रो पर्छ ।

भनेपछि, तपाईंको परिवारलाई समाजले खुब दुःख दिइरहेको कि क्या हो ?

समाजमा बाँच्न धेरै गाह्रो छ । संक्रमितलाई समाजले निरुत्साहित गर्छ ।

फोनमा जो कुरा गरिरहेका छन्, उनी कोरोना संक्रमित होइनन् । उनीबाहेक अरु सबै परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा उनका सात वर्षीय छोरा पनि थिए ।

तर, राधेश साह (नाम परिवर्तन) गत १९ साउनदेखि घरबाहिर निस्किएका छैनन् ।

०००

वीरगञ्जलाई कोरोनाले आक्रान्त पारेपछि लकडाउनलगत्तै काठमाडौं छाडेका राधेशको परिवार १७ साउनमा पुनः काठमाडौं फिरेको थियो । राधेशलाई भने अस्पतालको नियमित ड्युटीले परिवारसँग वीरगञ्ज जान छेकेको थियो । वीरगञ्ज–१४ का राधेशको घर भक्तपुरको कौशलटारमा पनि छ ।

परिवारसँग भेट भएको दिन राधेशको घरमा खुशी छाएन । किनभने, काठमाडौं आएकै साँझ उनका सात महिने छोरामा ज्वरो देखियो । शरीरको तापक्रम बढेर ९९ डिग्री फरेनहाइट पुग्यो ।

अर्को तनावको विषय थियो ५५ वर्षीया आमा र ६० वर्षीया बुबामा झन् ज्वरोसँगै रुघाखोकी पनि थियो ।

संक्रमित क्षेत्रबाट आएकाहरुमा यस्तो लक्षण देखिएपछि राधेश दम्पत्ति अत्तालिए । कतै कोरोनाले आक्रमण त गरेन ?

अर्को दिन पाटन पुगेर राधेशका पाँचजनै परिवारले नै पीसीआर परीक्षण गरिहाले । प्रोटोकल मिलेका कारण पनि उनीहरुलाई परीक्षणमा कुनै अप्ठ्यारो परेन । अरुलाई जस्तो परीक्षणको रिपोर्टका लागि लामो प्रतिक्षा गर्नु पनि परेन । अर्को दिन नै पीसीआर रिपोर्ट राधेशको हात लाग्यो ।

तर, त्यो रिपोर्ट राधेशको परिवारका लागि डरलाग्दो थियो । ‘मबाहेक सबैको रिपोर्ट कोरोना पोजेटिभ आयो’, राधेशले अनलाइनखबरसँग भने, ‘यता मेरो परिवारलाई कोरोना संक्रमण भयो, उता समाजमा एक/दुई दिनमै हल्लीखल्ली भइहाल्यो । मानिसहरुले के के न हो कि जसरी प्रचार गर्न थाले । कतिले गाली नै दिए ।’

यता राधेशलाई अर्कै आपत थियो, संक्रमितलाई हस्पिटल लैजाने कि घरमै राख्ने ? फेरि हस्पिटलमा पुगेपछि सात महिनाको बच्चालाई कस्तो स्याहार होला ? के खाला ?

राधेशले निर्णय गरे – होइन ! घरमै राख्नुपर्छ । यो निर्णयमा उनकी पत्नी पनि राजी भइन् । राधेशकी पत्नी पनि स्वास्थ्यकर्मी नै हुन् । तर, शिशु जन्मिएपछि उनी काम छोडेर बच्चाको स्याहारमा लागेकी थिइन् ।

त्यसपछि सुरु भयो राधेशको परिवारको फरक दैनिकी ।

राधेश ड्युटी जान छाडेर घरकै संक्रमितको स्याहारमा खटिन थाले । उनी पत्नी बसेकै फ्लोरमा बस्थे । आमा–बा एउटा र पत्नी र छोरा अर्को कोठामा बसेर कोरोनासँग लड्न थाले ।

उनीहरुका लागि खाना बनाउनेदेखि रोगसँग लड्नका लागि प्रोत्साहन दिनेसम्मको जिम्मेवारी राधेशको टाउकोमा थियो । उनी भन्छन्, ‘हामी यसको जटिलता थाहा भएकाले अलिकति डराएका पनि थियौँ । तर, पारिवारिक पृष्ठभूमि नै स्वास्थ्य भएकाले व्यवहारिकरुपमा अलि सहज भयो ।’

राधेशले सात महिनाको शिशुका लागि बेला–बेला लिटो बनाएर झ्यालबाट दिन्थे । काखे बालक भएकाले स्तनपान त गर्नु नै पर्थ्यो । राधेशले भने, ‘बाबुलाई एक/दुई दिनबाहेक लामो ज्वरो आएन ।’

केही समस्या पर्‍यो कि राधेशकी पत्नीले एसएमएस गरिहाल्थिन् । राधेशले सेवा दिइहाल्थे ।

उनलाई चारजना संक्रमितको स्याहार गर्न त्यति सहज थिएन । त्यसभन्दा झन ठूलो त मनमा शंकाले डेरा जमाएको थियो – अरु त बलियै छन् । तर, सात महिनाको बच्चालाई गाह्रो त हुँदैन ?

१४ दिनपछि गरेको पुनः पीसीआर परिक्षणले भने उनीहरुको सबै डर भगाइदियो । उक्त रिपोर्टमा सात महिने शिशुको मात्र नभएर परिवारका अरु सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ देखियो ।

सात महिने शिशुले कोरोना जितेको खबरले राधेश दम्पत्ति छोरो जन्मेका बेलाभन्दा बढी खुशी भए । राधेश सुनाउँछन्, ‘अहिले त सबैको स्वास्थ्य अवस्था सामान्य नै छ । तर, समाजले भने गाह्रो बनाउँदोरहेछ ।’

अहिले पनि राधेशकी पत्नीले कसैको फोन उठाउँदिनन् । परिवारमा भएको कोरोनाको विषयमा राधेशले कसैसँग कुरा गर्दा पनि पत्नीले झर्को मान्छिन् । ‘समाजले गर्ने विभेद र संक्रमितलाई सामाजिक सञ्जालदेखि फोनमा गर्ने व्यवहारहरुले मानसिकतामा गहिरो चोट पुग्दोरहेछ’, राधेश भन्छन्, ‘कोरोनाको कुरा गर्‍यो कि इरिटेड हुन्छिन् । उनले कुनै पाप गरेकी त होइनन् तर, संक्रमितलाई अपराध गरेकै अनुभूति गराइँदोरहेछ ।’

स्वास्थ्यकर्मीको परिवार र सचेत भनिएको ठाउँकै बासिन्दालाई त यस्तो गाह्रो छ भने झन सामान्य मानिसहरुलाई कस्तो व्यवहार होला ?

राधेश यसको कल्पनै गर्न सक्दैनन् । कोरोना संक्रमतिहरुमाथि छरछिमेक र समाजले राम्रो व्यवहार गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्