Wednesday, October 21

कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।

August 24, 2020 162

८ भदौ, काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् ।

घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् ।

प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङ अब जान्छन् र के गर्छन् भन्ने चासो पनि धेरै मानिसहरुमा देखिएको छ ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उनलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

प्राधिकरणमा घिसिङ उपस्थित हुनासाथ कर्मचारी संगठनहरु आन्दोलित थिए भने उनीभन्दा बरिष्ठ उपकार्यकारी निर्देशकहरु नियुक्ति खारेजीका लागि सर्वोच्च अदालतमा रिट लिएर गएका थिए ।

करिब एक महिनासम्म कुलमान अदालती प्रक्रियाले अल्मलिए । त्यसपछि अदालतले उनलाई काम गर्ने बाटो खोलिदियो ।

उनले कार्यकाल सम्हालेको वर्षको तिहारमा विद्युत् प्राधिकरणले विगतमा जस्तो ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना निकालेन । त्यस्तो सूचना नआउनुको कारण थियो, लोडसेडिङ हटाउने योजनाको परीक्षण । र, यहीँनेरबाट घिसिङको नाम एकाएक आम जनमानसमाझ चर्चामा आउन थालेको हो ।

हिउँदमा १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका जनतालाई ‘उज्यालो’ दिइरहने योजनामाथि त्यस वर्षको लक्ष्मीपूजाका दिनमा काठमाडौंमा परीक्षण गरियो र तिहारलगत्तै काठमाडौंलाई लोडसेडिङमुक्त घोषणा गरियो ।

त्यसपछि भरतपुर र पोखरा हुँदै देशभर नै लोडसेडिङ तालिका निकाल्ने काम बन्द गरियो । २०७५ वैशाखमा उद्योगहरुमा पनि लोडसेडिङ हटाएर प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त घोषित गर्यो ।

कति वर्षसम्म लोडसेडिङ भोग्नुपर्छ ? भन्ने अन्योल भइरहँदा कुलमानले २ महिनाभित्रै गरेको कामले विगतमा बदनाम भइरहेको प्राधिकरणको छवि एकाएक उज्यालियो ।

अरुले चमत्कार भने पनि कुलमानले लोडसेडिङ हट्नुलाई विज्ञान, व्यवस्थापन र सुशासनसँग जोडेर भन्छन्, ‘यो सरकारको मार्गदर्शन र प्राधिकरणको समग्र टिमको योगदानको प्रतिफल हो ।’

वर्षायाममा लोडसेडिङ हटेको घोषणासँगै प्राधिकरण पूर्वअधिकारीले हिउँदमा खोलामा पानी सुकेपछि फेरि बल्झिने पूर्वानुमान गरेका थिए । तर, कुलमानले त्यो चुनौती सधैंका लागि पार लगाइदिए ।

अब प्राधिकरणलाई ‘लोडसेडिङ हटाइयो’ भनेर सन्तोष मानेर बस्ने अवस्था छैन । कुलमानले भन्छन्, ‘हामीले पाएको एउटा सफलता नै अर्को सफलता प्राप्त गर्ने चुनौती हो, एउटा टाकुरो चढेर आनन्द मान्न सकिन्न, अझै धेरै अग्ला टाकुराहरु चढ्न बाँकी छ ।’

उक्लियो नाफाको ग्राफ

कुलमानले नेतृत्व गरेको ४ वर्षमा प्राधिकरण व्यवसायिकरुपमा सफलता उन्मुख बन्यो । विद्युत उत्पादन बढाउने र चुहावट घटाउनेदेखि ग्राहकसम्म पहुँच बढाउनेसम्मका काम यो अवधिमा विगतको भन्दा तीव्र गतिमा भयो ।

यसले गर्दा प्राधिकरणको अवस्था सुध्रियो भने भने प्रसारण लाइन विस्तारसहित सुशासन कायम गर्ने र संस्थालाई नाफामा लैजाने मामिलामा विद्युत प्राधिकरण अरु सार्वजनिक संस्थानभन्दा अब्बल देखियो ।

 

चार वर्षअघि प्राधिकरण सञ्चालन खर्च पनि जुटाउन नसकेर निरन्तरको घाटाले सञ्चित नोक्सानीमा भासिँदै थियो । आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ सरकारले व्यहोरेको थियो ।

तर, आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा सञ्चित यस्तो घाटा फेरि ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा मात्र प्राधिकरणले ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा सहेको थियो ।

कुलमान नेतृत्वमा आएको वर्ष २०७३/०७४ मा प्राधिकरणले एक अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमायो । र, त्यही घुम्तीबाट प्राधिकरण घाटाबाट नाफातर्फ मोडियो ।

आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८५ करोड, आर्थिक वर्ष २०७५/०७६ मा करिब ९ अर्व ८१ करोड मुनाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा करिब ११ अर्ब रुपैयाँ खुद मुनाफा कमाउन सफल भयो ।

त्यसकै प्रतिफल स्वरुप चार वर्षमा प्राधिकरणले ब्याजसहित ३५ अर्ब रुपैयाँ सञ्चित घाटा भुक्तान गर्यो । र, पाँच अर्ब सञ्चित नाफामा जम्मा गर्यो । घाटाको कलंक अन्त्य गरेर नाफाको युग सुरु गरेको प्राधिकरण बिगतका वर्षमा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्यो ।

संस्था बलियो भएपछि अब प्राधिकरणलाई चाहिने विदेशी ऋणको जमानीमा सरकार बस्नै नपर्ने भएको छ । अब दाताहरुले ऋण दिन प्राधिकरणलाई नै विश्वास गर्न थालेका छन् । आफ्नै संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्था बनेको छ ।

चुहावट घट्यो, खपत बढ्यो

त्यतिबेला प्राधिकरण चरम नोक्सानीमा जानुको कारण, चुहावट नियन्त्रणमा भएको कमजोरी पनि प्रमुख कारक थियो ।

प्राविधिक तथा गैरप्राविधिक कारणले आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । तर, आर्थिक वर्ष २०७३/०७४ देखि चुहावट घटाउने अभियान सुरु गरियो, जसमार्फत पहिलो वर्ष चुहावट २२.९ प्रातिशतमा झर्यो ।

दोस्रो वर्ष २०७४/७५ मा २०.४५ प्रतिशत, तेस्रो वर्ष २०७५/७६ मा १५.३२ प्रतिशत र चौथो वर्ष २०७६/७७ मा चुहावट १५.२७ प्रतिशतमा सीमित भयो ।

यसरी चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिब ८ अर्ब रुपैयाँ फाइदा हुन पुग्यो ।

चुहावट घटाएर नाफातर्फ लम्किएको प्राधिकरणले विद्युत खपत बढाउन यो अवधिमा महत्वपूर्ण सफलता हात पार्यो ।

 

आर्थिक वर्ष २०७२/७३ मा वार्षिक विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो । यो खपत दर आर्थिक वर्ष २०७१/७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिब ०.७ प्रतिशतले कम थियो ।

त्यतिबेला लोडसेडिङ हुने भएकाले एकजना व्यक्तिले वर्षमा औसत १३१ युनिट मात्र विद्युत खपत गथ्र्यो । तर, त्यसयता विद्युत खपत लगातार बढ्यो ।

आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत खपत ४ अर्ब ७७ करोड ३८ लाख युनिट थियो । २०७४/७५ मा ५ अर्ब ५५ करोड ७३ लाख युनिट भयो । २०७५/७६ मा कूल खपत ६ अर्ब ३३ करोड ८१ लाख र २०७६/७७ को कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुग्यो ।

अहिले एकजना व्यक्तिले २४५ युनिट विद्युत खपत गरिरहेका छन् । तथ्यांकअनुसार चार वर्षमा विद्युत उपयोग ८० प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस्