Thursday, October 22

कोरोना सारेको भन्दै गर्भवती महिलामाथि कुटपिट

August 26, 2020 142

भद्रपुर। कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घाइते भएका छन्। स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आक्रमणबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घाईते भएको जिल्ला प्रहरी कार्यालय झानपाले जनाएको छ। श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले बताए।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।

घटना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए ।

दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका हुन् । पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कुटपिट गरेका थिए । सागरलाई पेटीले कुटपिट गरेका कारण शरिरभरी निलडाम छ ।

उनीहरु दुबै उपचाररत रहेका छन् । घटनामा संलग्न दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कुटपिट गर्नेबिरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुबिरुद्ध कुटपिट र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाए ऐन २०६८ अन्तर्गतको मुद्दा दर्ता गरिएको परियारले जानकारी दिइन् ।

मंगलबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । घाइते चन्द्रकलाको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै श्रीमान सागरले बताए ।

कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् । लाम्गादे एथलेटिक्सकी किर्तीमानी खेलाडी हुन् । उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् । कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्नेगरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिकृया दिनुहोस्