Friday, October 23

काठमाडौ उपत्यकामा अब पनि निषेधाज्ञा जारी रहे तोडेर भए पनि व्यवसाय खोल्ने निर्णय

September 7, 2020 115

काठमाडौ । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको अवधि थप्दै जाँदा विकट स्थिति आउन सक्ने भन्दै नाडाले यसबारे पुनर्विचार गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्छ भन्ने नाडाको धारणा छ । अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएकोले नाडाले उक्त धारणा राखेको बताएको छ ।

‘यो कोरोना संक्रमणका विषयमा विश्वमा आवश्यक अध्ययन र अनुसन्धान भई रहेको तर सत्य तथ्य यहि नै हो भन्ने निश्चित अवस्था नभएको सन्दर्भमा विभिन्न मुलुकहरुले आ आफ्नै ढङ्गबाट कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रकृयाहरुको अवलम्बन गरिरहेको देखिन्छ । दक्षिण पूर्वी एशियाका केहि देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको छ । उच्च गतिमा संक्रमण बढिरहेको भनिएको अमेरिका जस्तो मुलुकहरुमा पनि लकडाउन नगरिएको सन्दर्भमा लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्ने आधार देखिदैन । यहि तथ्यहरुलाई मनन् गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुनर्विचार गर्नु पर्ने देखिन्छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् ।

काठमाडौमा लगातार तीन पटक निषेधाज्ञा थपिएको छ । ब्यवसायीहरुले भने अब निषेधाज्ञा जारी नराखेर ब्यवसाय सुचारु गर्ने वातावरण बनाउन माग राख्दै आएका छन् । तर पनि तेस्रो पटक उपत्यकामा निषेधाज्ञा थपिएको छ । ब्यवसायीहरु प्रशासनको निषेधाज्ञा लगाउने निर्णयवाट रुष्ट भएका छन् । तर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भने अब पनि निषेधाज्ञा जारी रहे अवज्ञा गर्ने निर्णय गरेको छ । नाडाले २५ गते देखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

नाडाको आज (सोमबार) बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक थपेको निषेधाज्ञा भदौ २४ गते सम्म सकिदैछ । फेरी पनि निषेधाज्ञा थपिए अवज्ञा गर्ने निर्णय गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

 

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको भए पनि अब पनि त्यसरी बस्न नसक्ने अवस्था आएको बताएका छन् । उनले अब जुनसुकै अवस्थामा लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजिकरण गर्नुपर्ने माग राखेका छन् । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताए।

सरकारी कर्मचारीहरुले काम नगरेपनि तलब भत्ता आइराख्ने भएकाले ब्यवसायीको मर्का बुझ्न नसकेको उनको भनाई छ । उपत्यकाका सिडिओहरुले भने दर्शैसम्म निषेधाज्ञा लागू गरेर सिमानामा सेना राख्न सरकारलाई सुझाव दिएको बेलामा ब्यवसायीको यस्तो निर्णय आएको हो । घरमै बसिबसि तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने उनले भने ।

उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेकाले यस्तो निर्णय गर्न बाध्य भएको बताए। पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्