Tuesday, October 20

नेपाल सम्वत ८२८ सालमा बनेको बिश्वकर्मा आगँःछेँ पुनःनिर्माणको लागि शिलान्यास

July 14, 2020 67

भक्तपुर, ३० असार । भक्तपुरको ऐतिहासिक सम्पदा बिश्वकर्मा आगँःछेँ पुनः निर्माणका लागि शिलान्यास गरिएको छ । अपाःझ्य अर्थात ईट्टाको झ्यालको पूनःनिर्माणको लागि मंगलवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाल सम्वत ८२८ सालमा बनेको बिश्वकर्मा आगँछेँ ख्वप भाषाबाट अपाःझ्य अर्थात ईट्टाको झ्याल भएको घर पुनःनिर्माण कार्यको ऐतिहासिक महत्वबारे बोल्दै सम्पदा निर्माणमा विदेशीको सहयोग भन्दा नगरबासीकै पहल आवश्यक रहेको बताउनुभएको छ । उहाँले भक्तपुरका सम्पदाहरु नगरपालिकाको बजेट, जनप्रतिनिधिको साथ र स्थानीय जनताको साथ र सहयोगमा बनिरहेको पनि बताउनुभयो ।

साथै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका भित्रका ऐतिहासिक सम्पदाहरु पुरानो मौलिक शैलीलाई जीवन्त राख्ने उद्देश्यले कामहरु गरिरहेको जानकारी समेत दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ६ स्थित तुछिमला टोलमा अवस्थित बिश्वकर्मा आगँःछेँ पुन निर्माणका लागि भक्तपुर नगरपालिकाले रु ९९ लाख ६८ हजार ५ सय २६ रुपैया लागतमा पुनः निर्माण गर्न लागेको हो । यो आगँःछेँ निर्माणका लागि झ्यालहरु पोलेको माटोले बनाएको छ । नेपाल भाषाबाट स्थानीयहरुले अपाःझ्य अर्थात ईट्टाको झ्याल भने गरिन्छ ।

यो घर ङातापोल्हँ मन्दिर बनाउने अवालहरुले बनाएको संस्कृतिविद ओम धौभडेलले जानकारी दिनुभयो । नेपाल सम्वत ८२२ सालमा भक्तपुरको तःमारीमा रहेको ङातापोल्हँ मन्दिर बनाएका अवालहरुलाई राजाले दिएको ज्याला स्वरुप पाएको पैसाले यो घर निर्माण गरेको र निर्माणको लागि नपुग पैसा पनि राजा भुपतिन्द्र मल्लले नै दिई निर्माण सम्पन्न गराईएको संस्कृतिविद धौभडेलले बताउनु भयो ।

पुनःनिर्माणको लागि तुछिमला टोलको अवालहरुले श्री विश्वकर्मा आँगछे पुनःनिर्माण उपभोक्ता समिति गठन गरि काम सुुरु गरेको छ । २०७७ साल असार १५ गतेबाट आँगछे भत्काउने काम सुरु गरेको श्री विश्वकर्मा आँगछेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवालले बताउनु भयो ।

समितिका अध्यक्ष अवालका अनुसार यसको लागि भक्तपुर नगरपालिकाद्धारा रु ९९ लाख ६८ हजार ५ सय २६ रुपैया छुट्याएको बजेट छुट्याइएको छ । अहिले काम शुरु गर्नको लागि पेश्की ३० लाख लिई सकेको पनि जानकारी गराउनु भयो ।
फाइल फोटो ः इट्टाको झ्याल भएको आँगछे (घर) ।

प्रतिकृया दिनुहोस्