Monday, March 8

ढाकाटोपीमा सजिएर भारतीय सेनाध्यक्षको पहिलो दिनको भ्रमण आध्यात्मिक केन्द्रमा, हेर्नुहाेस ४ तस्बीरमा

November 4, 2020 161

काठमाडौं, १९ कात्तिक । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे ३ दिने नेपाल भ्रमणको पहिलो दिन आध्यात्मिक भ्रमणमा आफुलाई केन्द्रित गर्नु भएको छ । नेपाली ढाका टोपीमा सजिएर उहाँले नेपाल भ्रमणको पहिलो दिन बुधबार काठमाडौंका विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्नुभएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सोल्टी होटल जानुभएका नरवणे त्यसपछि दर्शन गर्न वसन्तपुरमा कुमारी र पशुपतिनाथको मन्दीर पुग्नुभएको जंगीअड्डाले जनाएको छ । पत्नी विनासहित धार्मिक भ्रणमा जानुभएका नरवणेको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु खटिएका थिए ।

आध्यात्मिक केन्द्रहरुको भ्रमणको क्रममा उहाँको सहयोग र सुरक्षामा खटिएकाहरुसंग विनम्र व्यवहार गर्नु भएको पनि देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उहाँको भ्रमण तालिका अनुसार बिहीबार समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि भ्रमणको मुख्य उदेश्य रहेको नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनुहुनेछ । मानार्थ पदवी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुहुनेछ ।

त्यसपछि शुक्रबार बिहान नरवणे आर्मी स्टाफ कलेज शिवपुरीमा जाने र शिक्षार्थीसँग अन्तरक्रिया गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर भ्रमण पूरा गर्ने कार्यतालिका रहेको छ ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरवणे नेपाल आउनुभएको हो । २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले उहाँको भ्रमणलाई स्वीकृत गरेको थियो ।

नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसक्नु भएको छ । नरवणेको नेपाल भ्रमाण यसअघि नै हुनुपर्नेमा कोरोना भाइरसका महामारी र नेपाल भारत सीमा विवादका कारण रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्