Tuesday, October 20

अपहरणपछि युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

July 20, 2020 167

सिरहा, ५ साउन । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।

केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो ।

गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारजनले कतै उनको हत्या त भएको छैन ? भन्ने आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिए ।

लागुऔषध मुद्दामा जेलमा बसेका बेला साथीसँग लिएको सापटीबापतको रु एक हजार समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको उहाँका पिता सिफैत रामले बताएका छन् । लकडाउनको समयमा रोशन लागुऔषधसहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । पक्राउ परेको समयमा उनलाई इलाका प्रहरी कार्यालय लहानको थुनामा राखिएको थियो ।

जेठको अन्तिम साता उनलाई जिल्ला अदालतले रु १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको तर रकम नहुँदा जेलमै गएका थिए । जेलमा रामको भेट लागुऔषध मुद्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको र कारागारमै यादवसँग रामले रु एक हजार ऋण लिएको र त्यो समयमा फिर्ता नदिएकाले आफ्नो छोराको हत्या भएको मृतकका पिता सिफैतको कथन छ ।

प्रतिकृया दिनुहोस्