Thursday, October 22

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

July 21, 2020 112

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसा सम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ ।

कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धरासायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरु परिवर्तन गरेको हो ।

महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा कायम गरिराख्न नयाँ नियमहरु परिवर्तन गरेको आप्रवासन मन्त्री अलान टुजले बताए ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब वार्षिक ४० अर्ब डलरको योगदान गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको कमीका कारण गत ५ महिना अवधिभर अष्ट्रेलियाका विश्वविद्यालयहरुले करिब १६ अर्ब अष्ट्रेलियन डलरको घाटा व्यहोरेको बताएका थिए ।

सोमबार ल्याइएको नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट विद्यार्थी भिसा आवेदन गर्नेहरुलाई भिसा दिने प्रकृया पुन: सुरु गरिने छ ।

महामारीका कारण विगत केही महिनादेखि भिसा दिने प्रकृया रोकिएको थियो । यद्यपि महामारीका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द भएकोले कहिलेदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गर्न पाउँछन् भन्ने विषयमा भने टुज केही बोलेका छैनन्।

साथै, परिवर्तन गरिएको नयाँ नियमअनुसार महामारीका कारण अध्ययन पूरा नभई विद्यार्थी भिसा अवधि सकिएकाले पुन: विद्यार्थी भिसाका लागि आवेदन दिँदा शुल्क लाग्ने छैन । यसले महामारीका कारण आर्थिक संकटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा अवधि थप्न केही राहत हुने भएको छ ।

त्यस्तै, नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट अनलाइनमार्फत अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन सकिएपश्चात पाइने पोष्ट स्टडी वर्क भिसाका लागि योग्य हुनेछन् ।
यसभन्दा अगाडि पोष्ट स्टडी भिसाका आवेदनका लागि अनिवार्यरुपमा कलेज गएको, शिक्षालयमा भौतिक उपस्थिति भएको जस्ता प्रकृया पूरा गर्नु पर्दथ्यो।

प्रतिकृया दिनुहोस्