Thursday, October 22

टोखामा ढिस्कोले पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु

July 21, 2020 734

काठमाडौं : काठमाडौंको टोखा नगरपालिकामा ढिस्कोले पुरिएका दुई बालबालिकाको मृत्यु भएको छ।

मंगलबार बिहान टहरामा बसेर खाना खाँदै गरेका तीन वर्षीय जुम्ल्याहा बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए।

नगरपालिका वडा नम्बर १ टाँसी डाँडामा ढिस्कोले पुरिएका तीन वर्षीया सन्ध्या रानामगर र सचिन रानामगरको मृत्यु भएको हो। उनीहरुको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पठाइएको डीएसपी खड्काले बताए।

नगरपालिका १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार सबै परिवार टहरामा बसेर खाना खाने क्रममा मंगलबार बिहान करिब १० बजेतिर ढिस्कोले टहरा पुरिएको हो। धनकुटा स्थायी घर भएर टोखाको खुला बारीमा खुखुरा फारम चलाएर बसेका राना परिवारका अन्य सदस्य भने भाग्न सफल भएका छन् । जुम्ल्याहा बालबालिकालाई भने निकाल्ने प्रयास सफल नहुँदा घटना भएको परिवारका सदस्यले बताएका छन् ।

वडा अध्यक्ष अधिकारीका अनुसार उनीहरु चार वर्षदेखि त्यही बस्दै आएका थिए । ‘माथिबाट सुख्खा माटो आएको थाहा पाएपछि परिवारका सदस्य भाग्न सफल भए पनि बच्चालाई निकाल्न नसक्दा घटना भएको रहेछ’, वडाध्यक्ष अधिकारीले भने, ‘बच्चा तान्न खोज्दा खोज्दै ढिस्कोले टहरा छोपिएछ ।’

अध्यक्ष अधिकारीका अनुसार त्यो पहिरो नभएर ढिस्को मात्र झरेको हो । बालुवा मिसिएको माटोको ढिस्को धेरै पानी परेपछि झरेको उनको भनाइ छ । घटनास्थल चक्रपथदेखि १० किलोमिटर टाढा पर्छ ।

प्रतिकृया दिनुहोस्