Tuesday, October 20

कोरोना भाइरस : ८६ दिन अस्पताल बसेर घर फर्किएका बाबकको कहानी

July 21, 2020 105

काठमाडौं । बाबक खजरोशाहीलाई गत मार्च २२ को बिहानै चार बजे अस्पताल लगिएको थियो । त्यसको ८६ दिनपछि बाबाक आफ्नो घर फर्किएका छन् । तर, ८६ दिनको लडाइँ त्यति सजिलो भने पक्कै पनि थिएन । बाबाक जति दिन अस्पतालमा बसे, त्यो समयमा बेलायतमा कोरोना भाइरसका ४० हजार संक्रमितको मृत्यु भयो । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बाबाकको निकै लामो लडाइँ चल्यो ।

बाबाकको कहानी उनकै शब्दमा

वास्तवमा भन्ने हो भने मलाई कोरोना भाइरसको संक्रमण कसरी भयो भन्ने आफैंँलाई थाहा छैन । म पटकपटक के भइरहेको छ भनेर जान्ने प्रयास गर्थेँ, तर बुझ्न सकिरहेको थिइनँ ।

मैले कोरोना भाइरसबाट बच्न सावधानी पनि अपनाएको थिएँ । बारम्बार हात धोइरहन्थे । मैले कहिल्यै सार्वजनिक सवारी साधनको प्रयोग गरिनँ र आफ्नै कारमा यात्रा गर्थेँ । एक दिन मेरी पत्नी मसँग भेट्न आएकी थिइन् र मलाई केही ठीक भइरहेको छैन भन्ने महसुस भइरहेको थियो । अहिले मलाई त्यतिबेला ज्वरो आएको थियो कि भन्ने लाग्छ । मलाई चिसो महसुस भइरहेको थियो । के भएको हो भनेर मैले चाल पाउन सकेको थिइनँ । मलाई त्यतिकै यस्तो आभाष भएको हो कि भन्ने पनि लाग्यो ।

त्यसपछि पत्नी नजिक आउँदा भौतिक दुरी कायम गर्नुपर्छ भन्ने लाग्यो किनकी मलाई देखिएको लक्षण कोभिड–१९ को हुनसक्छ भन्ने लागेको थियो । मलाई यस किसिमको महसुस अर्को दिनसम्म पनि जारी थियो । मैले घरमा राखेको पुरानो थर्मोमिटर खोजेर ज्वरो नापे । तापमान १०१ दशमलव ३ डिग्री फरेनहाइट देखायो । मैले मनमनै भनें यो निकै गम्भीर हो ।

एउटा फोक्सोले काम गर्न छाड्यो

मैले हेल्पलाइन १११ मा फोन गरेँ । उनीहरुले मलाई सात दिनसम्म प्रतीक्षा गरेर ९९९ मा फोन गर्नुपर्ने सुनाए । त्यतिबेलासम्म मेरो शरीरको तापमान निकै बढिसकेको थियो । मेरो अवस्था पनि नाजुक बन्दै गइरहेको थियो । एउटा कोठाबाट अर्को कोठामा आउजाउ गर्न पनि गाह्रो हुन थालेको थियो । अवस्था निकै खराब हुँदै गएपछि एक साथीले ९९९ मा फोन गरे । मार्च २२ मा म अस्पतालमा थिएँ ।

अस्पतालमा मेरो यो पहिलो दिन थियो । एउटा कोठामा सुताइएको थियो र एक नर्सले मलाई खाना दिइन् । मलाई कुखुराको मासु खान दिइएको थियो, तर मलाई त्यो खाना खान ठूलो मेहनत गर्नुपर्‍यो । त्यतिबेला मलाई निकै गाह्रो भइरहेको थियो । म भेन्टिलेटरमा थिएँ, र मलाई धेरै अक्सिजन आवश्यक देखिएको थियो किनकी मेरो बायाँ फोक्सोले काम गर्न छाडेको थियो ।

मलाई राम्रोसँग याद छ कि मैले मेरो आँखा खोल्दा मैले कसैलाई पनि म कहाँ छु भनेर भनिनँ र मलाई यहाँ किन राखिएको हो भनेर पनि सोधिनँ । मैले केवल म यहीँ हुनु जरुरी थियो भन्ने स्वीकार गरेँ । मैले केही भन्न सकिरहेको थिइनँ । साथै निकै असमञ्जस अवस्थामा थिएँ ।

नर्सले मलाई एउटा कागज र पेन दिइन्, ताकि मैले उक्त पेपरमा लेखेर केही भन्न सकूँ । तर म त्यति गर्न पनि सक्ने अवस्थामा थिइनँ । त्यसपछि मलाई अक्षरहरुको बोर्ड राखेर औंलाले देखाएर आफ्नो मनको कुरा भन्न सकूँ भनेर पनि प्रयास गरियो । तर मैले त्यो काम पनि गर्न सकिनँ ।

यो सबै घटना हुनुभन्दा केही दिनअघि मात्र त म राम्रोसँग लेख्न सक्ने थिएँ । त्यसपछि एकदिन मेरो फिजियोथेरापिस्टले मलाई यस्तो कुरा सुनाए, जुन मलाई सधैं याद रहनेछ ।

उनले भनेका थिए, ‘तपाइँ यो अस्पतालबाट बाहिर जानुहुनेछ ।’

चार डाक्टरले घेरिएको एक बिरामी

सबैको उद्देश्य मेरो गतिविधि बढाउनु थियो । सबैभन्दा पहिला उनीहरुले मलाई बेडको एकपट्टी बस्न भने र त्यसपछि कुर्सीमा बस्न र उठ्न लगाए । बिस्तारै बिस्तारै मलाई हिँड्न लगाए ।

मैले अक्सिजनको सहयोगमा यी सबै काम गरिरहेको थिएँ । उनीहरुले मलाई मैले गरेको काम म्याराथुन पूरा गर्नु जत्तिकै कठिन रहेको बताए । करिब ३० दिन फिजियोथेरापिस्टले भन्दा म उभिन नसकेको देख्दा मनमनै अब जिन्दगीमा कहिल्यै उभिन सक्छु कि सक्दिनँ भन्ने चिन्ता मनमा खेलिरहन्थ्यो । मैले राम्रोसँग सास फेर्न सकिरहेको थिइनँ ।

मलाई श्वासप्रश्वासका लागि पनि मेसिनको साहारा लिइरहनुपरेको थियो । तर, अर्को दिन फिजियोथेरापिष्टले उही कुरा दोहोर्‍याए । त्यतिबेला मेरो लक्ष्य नै अस्पतालभन्दा बाहिर जानु बनिसकेको थियो ।

करिब ५० दिनपछि मलाई पहिलाको भन्दा निकै सामान्य बार्डमा सारियो । म अस्पतालबाट बाहिर जान सकूँ भन्ने तयारी गरिएको थियो । तर एकदुई दिनपछि मलाई फेरि गाह्रो भयो र ज्वरो आयो । मैले तुरुन्त आवाज दिएर नर्सलाई बोलाएँ । केही सेकेण्डमा चार डाक्टर मेरो नजिक आएर बसेका थिए । आधा घण्टामा मलाई एएमयूमा सिफ्ट गरिसकिएको थियो । त्यसपछि थाहा भयो कि मलाई संक्रमण छ ।

तर म अस्पतालबाट बाहिर आएँ

मेरो थाकेका मांसपेशीहरु निकै कमजोर भएका थिए । म धेरै लामो समयसम्म अस्पतालमा बस्नुपर्ने कारण पनि यही थियो । डाक्टरहरुले मलाई धेरै किसिमको व्यायाम र सकेसम्म धेरै पानी पिउन सुझाव दिए । मेरो उपचार गरिरहेको टोलीलाई म आफ्नो घर फर्किँदा कुनै तार वा ब्याग लिएर जानुपर्ने अवस्था आउने छैन भन्ने पूर्ण विश्वास थियो ।

म केवल दुई कुराका लागि भावुक भइरहेको छु– एक एनएचएस (बेलायतको नेशनल हेल्थ सर्भिस) र अर्को मेरो परिवार । म अहिले जीवित छु त एनएचएसको कारण, जसले मेरो ज्यान बचायो ।

म यति लामो समयपछि अस्पतालबाट बाहिर आउँदा कस्तो महसुस हुन्छ भन्ने कुरा महसुस गर्न पनि सक्दिनँ । म अस्पताल जाँखा रुखमा पातहरु थिएनन् तर फकिँदा भने पलाइसकेका थिए । मैले जहाँ काम गर्थेँ, त्यहाँ अहिले तत्काल आउन नसक्ने जानकारी दिइसकेको छु । मैले आफैँलाई सेमी–रिटायर (आधा अवकाश) को अवस्थामा रहेको मान्छु । भाइरस त सकिएको छ तर अस्पतालमा भर्ना हुनुपर्ने आभाष ……. म अहिले पनि त्यसबाट बाहिर आउने प्रयास गरिरहेको छु ।

म अस्पतालबाट फर्किएपछि कतैबाट हिँडेर फर्किँदा सास फेर्न निकै गाह्रो हुन्छ । अहिले पनि म निकै नरम खानाहरु मात्र खान सक्छु । अस्पतालबाट फर्किएपछि दुई–तीन किलो तौल बढिसकेको छ । तर पनि म आफूलाई मन परेको खानेकुरा खान सक्दिनँ ।

स्रोत : बीबीसी

प्रतिकृया दिनुहोस्