Sunday, October 25

डोजरमाथि चढेर खोला वारपार, दूध तार्न डोरीको साहरा

July 21, 2020 100

बेनी : म्याग्दीका सर्वसाधारण डोजरमाथि चढेर खोला वारपार गर्न र कृषकले दूध ढूवानी गर्न रसीको साहरा लिनुपरेको छ।

बेनी-जोमसोम सडक अन्तरगत रघुगंगा गाउँपालिका-१ बेगखोलामा बाढी आएपछि डोजरको बकेट र चालकको सिटमाथिको छतमा बसेर खोला तर्न बाध्य भएका हुन्। हिँडेर तर्न नसकेपछि डोजरको बकेटमा चढेर खोला पार गरेको अन्नपूर्ण-१ दोवाका सिरबहादुर गर्बुजाले बताए।

‘बेगखोला बढेपछि गाडी र मानिस आवत जावत गर्न सकेका छैनन,’ उनले भने ‘त्यहाँ भएको डोजरले वारीका मानिसलाई पारी र पारिकालाई वारी गराउँछ।’ यसैगरी बेनी-दरवाङ सडक अन्तरगत फापरखेतको पहिरोले सडक बगाएपछि सिमलचौरका कृषकले तातोपानीमा ढूध पुर्‍याउन डोरीको साहरा लिएका छन्।

पहिरोको दुईतर्फ डोरी तानेर दूधको क्यान राखी तातोपानीतर्फ पठाएको सिमलचौरका पुनम खड्काले बताए। पैदल हिड्ने बाटो समेत पहिरोले बगाएपछि सर्वसाधारणलाई सास्ति भएको छ।

बेगखोला र फापरखेतमा वारपार गर्न र दूध तार्न भएको सास्ती उदाहरण मात्र हो। म्याग्दीको लाइफलाइन मानिएको बेनी-जोमसोम र बेनी-दरवाङलगायत सबैजसो सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा आवतजावत, बिरामीलाई अस्पताल पुर्‍याउन, खाद्यान्न ढुवानी र कृषि उपज निकासीमा समस्या भएको छ।

असार २५ गतेको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा महँगो खर्च गरेर हेलिकप्टरबाट अति आवश्यक राहत सामग्री ढुवानी गर्नुपरेको छ।

बेनी-जोमसोम सडकका निर्माणाधिन र पुराना पाँच वटा मोटर चल्ने पुल बाढीले बगाएको छ। गलेश्वरस्थित बेलिब्रिज असार २५ गतेको बाढीले बगाएको थियो। सोमबार रुप्से खोलामा आएको बाढीले चालु अवस्थाको पुरानो र निर्माणाधिन मोटरेबल पुल बगाएको हो।

घाँसाखोला र घैकुखोलाको पुल, कालीगण्डकी नदी माथिको सुकेबगर र घराप तथा दाना र गाडपार जोड्ने झोलुङ्गे पुल पनि बगाएको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

पहिरोका कारण अवरुद्ध मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरीको धारापानी हुँदै ताकम जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ। फेदीस्थित दाङखोलामा पुरिएको मोटर चल्ने अस्थाई पुल समेत बाढी हटाएपछि आवत जावत गर्न मिल्ने भएको छ।

दरवाङदेखि बिम र आरवाङ जोड्ने सडक मर्मतको काम जारी छ। सो सडक खुलाउन जिसस म्याग्दीले एक करोड रुपैयाँ बिनियोजन गरेको जिसस प्रमुख देवेन्द्र केसीले बताए। ‘बेनी-दरवाङ र बेनी-जोमसोम सडक पनि मर्मतको काम भइरहेको छ,’ उनले भने ‘निरन्तरको वर्षा र धेरै ठाउँमा पहिरो गएकाले मर्मतमा ढिलाई भएको हो।’

काभ्रेको भजेनी खोलामा आएको बाढीले सोमबार स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको थियो। बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ्ग-तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ।

अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी, रेडक्रसको भवन लगायत तीस भन्दा बढी घर जोखिममा परेका छन्। नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।

जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। कालीगण्डकी र रघुगंगा नदीको दोभान स्थित जलजला गाउँपालिका-२ मा रहेको धार्मिकस्थल राममन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको बताए। कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ्ग-तातोपानीको तल्लो बजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसो समेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

बेनी नगरपालिका-८ कालीपुल बसपार्क र बेनीको गणेशटोल पछाडि कालीगण्डकीले कटान गर्न थालेको छ। थप क्षति हुन नदिन कटान नियन्त्रण सुरु गरेको बेनी-८का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताए।

बेनी हुदै पर्वतको जलजला-२ र ३ बगरफाँट जोड्ने सडक पनि कालीगण्डकीले बगाएको छ। कालीपुल-बगरफाँट जोड्ने झोलुङ्गे पुल समेत कटानको जोखिममा परेको जलजला-३ का वडा अध्यक्ष रवी भण्डारीले बताए।

प्रतिकृया दिनुहोस्