Saturday, October 31

अस्पतालले लिन नमान्दा एम्बुलेन्समै बिरामीको मृत्यु

July 24, 2020 82

विराटनगर : विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदा डुलाउँदै शुक्रबार दिउँसो मृत्यु भएको हो।

बिरामी अवस्थाका उनलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर शुक्रबार विराटनगर ल्याएका थिए। पदमलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएको थियो। तर अस्पतालले लिन मानेन। श्वासप्रश्वासमा समया रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखि सकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताए। ‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भएपनि बिरामीलाई अस्पतालले लिनै मानेन।’ नोबेलमा भने पदम एम्बुलेन्सबाट आफैँ निस्किएर स्ट्रेचरमा बसेको उनको भनाइ छ।

चालक तामाङले बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए। ‘कोरोनाको शंकास्पद मानेर त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मीले अर्को अस्पताल लैजान सुझाव दिए,’ उनले भने, ‘त्यसपछि पदमलाई दिउँसो २:३० बजे कोसी अस्पताल पुर्‍याइएको थियो।’ कोसीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समा लगेर राखिएका उनलाई त्यहाँका चिकित्सकले पनि लिन नमानेको उनको भनाइ छ।

एम्बुलेन्स भित्रै रहेको पदमको शव।

कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले पनि लिनै नमानेको र त्यहाँ पुगेको लगभग एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु तामाङको भनाइ छ। कोसीका चिकित्सकले पनि परीक्षण नगरीकन बिरामीलाई उपचारका लागि जिम्मा लिन नसक्ने जवाफ दिएको उनको भनाइ छ। बाटोमा पनि श्वासप्रश्वासमा थप समस्या हुँदै गएकाले पदमलाई अक्सिजन लगाउँदै ल्याइएको उनले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो। उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताए। मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो। ‘अस्पतालमा सकुसल ल्याइ पुर्‍याएपनि चिकित्सकले उपचार गराउन नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु भयो,’ आफन्त रोमा गोलेले भनिन्, ‘यसमा अस्पतालको गम्भीर लापरबाही छ।’ उनले कुनै पनि बिरामीले उपचार नपाएर अकालमा ज्यान गुमाउने अवस्था आउनु दुःख भएको भन्दै लापरबाही गर्नेमाथि कारबाही हुनु पर्ने माग राखिन्।

पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए। उनीहरु एम्बुलेन्सभित्रै बेहोस भएपनि लामो समयसम्म कसैले वास्ता गरेन। अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ।

लगभग ५:३० बजेतिर पदमको शव पीपीई लगाएका स्वास्थ्यकर्मी आएर अस्पतालको आइसोलेसनमा लिएर गए। परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए। ‘अस्पताल आइपुग्दा बिरामी एकदमै सिकिस्त र अन्तिम अवस्थामा थिए,’ उनले भने, ‘कोरोना संक्रमणको आशंका गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदै गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भयो।’

डा. दासले अस्पतालका कोरोना फोकल पर्सन वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले कोसीमा उपचार सम्भव नहुने भन्दै धरान लैजान सुझाव दिएको बताए। मृतकमा कोरोना संक्रमण थियो थिएन भन्ने कुरा स्वाबको रिपोर्ट आइसकेपछि मात्रै भन्न सकिने उनले बताए। दासले स्वाब परीक्षणलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए।

उपचारका लागि उदयपुरबाट ल्याइएका पदम राईको मृत्यु भएपछि एम्बुलेन्समै बेहोस भएका पदमकी श्रीमती कमला र बहिनी चमेली।

प्रतिकृया दिनुहोस्