Friday, October 23

नेपाल-भारत सीमा नाकामा फहराइयो १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा

July 24, 2020 104

वीरगन्ज : भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा १ सय १० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा मुख्य नाकामा १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा गाडिएको हो ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा शनिबार सांसद यादवले झण्डाको उद्घाटन गरेका छन् । भारतको रक्सौलबाट वीरगन्ज छिर्ने मुख्य नाका इनर्वास्थित शंकराचार्य प्रवेशद्धारकै अगाडि १ सय १० फिट अग्लो फलामे टावर ९पोल ०निर्माण गरी त्यसमा ३० फिट लम्बाइ र १५ फिट चौडाइको नेपाली राष्ट्रिय झण्डा लगाइएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्वाचन क्षेत्र नम्बर १ पर्साको विकास कोषबाट १० लाख र आफनो निजी ३ लाख ६२ हजार रुपैयाँको लगानीमा नेपाली राष्ट्रिय झण्डा सहितको फ्ल्याग टावर निर्माण गरिएको सांसद यादवले जानकारी दिए ।

भारतबाट नेपाल गर्ने देशकै मुख्य नाकामा नेपाल र नेपालीको पहिचान र शानको झल्को दिन नेपाली राष्ट्रिय झण्डा सहितको फ्ल्याग टावर निर्माण गरेको सांंसद यादवले बताए । ‘मधेसीको राष्ट्रियताप्रति देशकै केही समुदायले बेला बेलामा आशंका गर्दै लान्छना लगाउँदै आएका छन् । तर आज सीमा नाकामै मधेसको एउटा सांसदले यति विशाल अग्लो राष्टिय झण्डा लगाएर मधेसीको राष्ट्रियता माथि शंका गर्नेहरुलार्इ गतिलो जवाफ दिएका छौँ,’ सांसद यादवले भने ।

सीमा नाकामै लगाइएको नेपाली झण्डाले नेपाली र नेपालीको पहिचानलाई अझ सशक्त बनाएको भन्दै उनले झण्डाले नेपालीको शान र गौरव अझ बढाएको प्रतिक्रिया दिए । सांसद यादवले सीमानाकाको मितेरी पुलदेखि वीरगन्ज भन्सार हुँदै रजतजयन्ति चोकसम्मको जीर्ण सडक यही आर्थिक वर्षमा आफुले मर्मत सम्भार गरिदिने घोषणा पनि गरे ।

तत्कालीन समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको अध्यक्षतामा भएको फ्ल्याग टावर उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, प्रहरी उपरीक्षक गंगा पन्त, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, तत्कालीन समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमद, वीरुगन्ज १६ की कार्यवाहक वडाध्यक्ष सुनीता देवी लगायतको पनि उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्